कृषिले २० प्रतिशत बोनस सेयर दिने, हकप्रद भरेकाले पनि बोनस पाउने

29 Dec,2016
  • Agricultural-Development-Bank-Nepal_12_29_2016_11_54_11.png
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनसमा लाग्ने कर तिर्न बैंकले १.०५३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । 
 
हकप्रद सेयर वितरणपछि बोनस सेयर दिने बैंकले जनाएको छ । यसआधारमा बैंकको हकप्रदमा लगानी गरेकाले पनि बोनस सेयर पाउने भएका छन् । कृषि विकास बैंकले केही समयअघि मात्र ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको छ । कृषिको साधारण सेयरको चुक्ता पुँजी हकप्रदअघि तीन अर्ब ९३ करोड ६ लाख रूपैयाँ छ । 
 
हकप्रदपछि यसमा ५० प्रतिशत पुँजी थपिनेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख ९१ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३६ रूपैयाँ ९१ पैसा छ । प्रतिसेयर खुद मूल्य भने ३२१ रूपैयाँ २३ पैसा देखिन्छ । पहिलो त्रैमासिक रिपोर्टमा जगेडा कोषमा आठ अर्ब ८० करोडभन्दा बढी पैसा छ ।