अरुण काबेलीमा १२ अर्ब ६८ करोड रूपैयाँभन्दा बढीको आवेदन, मागभन्दा ४६ गुणा बढी

03 Nov,2016
  • arun_kabeli_11_3_2016_1_11_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण काबेलीको आइपीओमा १२ अर्ब ६८ करोड रूपैयाँ भन्दा बढीको आवेदन परेको छ । 
 
कम्पनीले ३० करोड रूपैयाँको ३० लाख कित्ता आइपीओ निष्कासन खुला गरेको थियो । कुल एक लाख ४४ हजार आठ सय ८० जना आवेदकले १२ अर्ब ६८ करोड ६८ लाख ३० हजार रूपैयाँभन्दा बढीको आवेदन दिएका हुन् । 
 
नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले अरुण काबेलीमा १२ अर्ब ६८ करोड ६८ लाख रूपैयाँ भन्दा बढीको आवेदन परेको जानकारी दिए । 
 
‘बिक्री प्रबन्धकले कात्तिक १२ गते दिएको विवरण अनुसार अरुण काबेलीमा १२ अर्ब ६८ करोड ६८ लाख रूपैयाँभन्दा बढीको आवेदन परेको देखिन्छ,’ उनले भने । 
 
यो तथ्यांकलाई आधार मान्दा अरुण काबेलीमा ४२ गुणाभन्दा बढी आवेदन परेको देखिन्छ । अरुण काबेलीको आइपीओ कात्तिक १२ मा बिक्री बन्द भएको थियो । 
 
अरुण काबेलीले ३० लाख कित्तामध्ये ९० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषले पाएका छन् । अब बाँकी २७ लाख ६० हजार कित्ता सर्वसाधारणमा निष्कासन खुला गरिएको हो । 
 
सर्वसाधारणमा छुट्याएको सेयरलाई मात्र आधार मान्दा झन्डै ४६ गुणा बढी आवेदन परेको देखिन्छ । यो सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम १५ हजार कित्तासम्म आवेदन दिने व्यवस्थ्था थियो । अरुण काबेलीमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको हो ।