भार्गव विकास बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ साउन २०७३)

28 Jul,2016
  • bhargav_bank_resize_7_28_2016_1_37_46.jpg


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. २ करोड ५८ लाख रहेको छ । बैङ्कको असारमा भएको साधारणसभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (६९ दशमलव १२ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएसन : १८ दशमलव ६८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा र ट्रेण्ड लाइनभन्दा तल छ भने सातदिने रेखाभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ५ सय  ५० मा टेवा र मूल्य महँगिएमा रू. ६ सय १५ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा १६ दशमलव ५० प्रतिशत घटेर रू. २ करोड ५८ लाखमा सीमित भएको छ । गत आवमा रू. १ करोड ७२ लाख खराब कर्जा उठाएको यस बैङ्कले यो आवमा रू. ७७ हजार मात्रै खराब कर्जा उठाएको छ । सोहीकारण नाफा घट्न पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ३१ प्रतिशतबाट घटेर २१ दशमलव ५५ प्रतिशतमा सीमित भएको छ ।

- खुद ब्याज आम्दानी ३७ प्रतिशत बढेको छ । ब्याज आम्दानी ४८ दशमलव ६३ प्रतिशत बढेर रू. १४ करोड ६१ लाख र ब्याज खर्च ५८ दशमलव ३९ प्रतिशत बढेर रू. ८ करोड ५० लाख पुगेको छ ।

- सञ्चालन नाफा ७३ दशमलव ५३ प्रतिशत बढेको छ । कर्मचारी खर्च १६ प्रतिशत, अन्य सञ्चालन खर्च २२ प्रतिशत र कुल सञ्चालन नाफा ४५ दशमलव ३९ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति २ गुणा बढेको छ भने अन्य सम्पत्ति ३७ दशमलव ७६ प्रतिशत घटेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ९५ प्रतिशत बढाएर रू. ४५ लाख  ७४ हजार पुर्‍याएको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव १२ प्रतिशत र सीडी रेशियो ६७ दशमलव ४२ प्रतिशत रहेको छ ।

- पूँजी कोष लागत ६ दशमलव ४६ प्रतिशत र पूँजी कोष पर्याप्तता १२ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २१ दशमलव ५५ छ । हालको शेयरमूल्य नेटवर्थको ४ गुणा छ ।