भार्गव विकास बैङ्क : कम्पनी विश्लेषण (आइतवार, २१ कात्तिक २०७३)

06 Nov,2016
  • bhargav_bank_resize_11_6_2016_11_52_24.jpg

आव २०७३/७४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा तीन गुणा बढेर रू. २ करोड ६५ लाख पुगेको छ । बैङ्कको कात्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा फोर प्राइस डोजी बनेको छ । यसले आगामी दिनमा शेयर प्याटर्न परिवर्तन हुने सङ्केत गर्दछ ।

आरएसआई : ओभरसोल्ड जोन (२१ दशमलव ५९ स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव ७४ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने औसत मूल्यरेखा, ट्रेण्ड लाइन र २१ दिने मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ५ सय १५ मा टेवा पाउने सङ्केत देखिन्छ हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ५ सय ४० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको पहिलो त्रैमासमा नाफा तीन गुणा बढेर रू. २ करोड ६५ लाख पुगेको छ । खुद ब्याज आम्दानी ६४ दशमलव ७६ प्रतिशत र सञ्चालन नाफा तीन गुणा बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ५० दशमलव ५८ प्रतिशतबाट घटेर १८ दशमलव २३ प्रतिशतमा सीमित भएको छ ।

- जगेडा कोष १० प्रतिशत घटेर रू. ४ करोड ९२ लाखमा सीमित भएको छ ।

- ब्याज आम्दानी ३८ दशमलव ११ प्रतिशत बढेर रू. ४ करोड ११ लाख र ब्याज खर्च २३ दशमलव ७१ प्रतिशत बढेर रू. २ करोड ३९ लाख पुगेको छ ।

- कर्मचारी खर्च २३ दशमलव ९१ प्रतिशत, कुल सञ्चालन नाफा ६५ दशमलव ६३ प्रतिशते, अन्य सञ्चालन खर्च १८ दशमलव ८२ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति दुई गुणा बढेर रू. ४ करोड ४७ लाख पुगेको छ भने अन्य सम्पत्ति २१ दशमलब ७७ प्रतिशत घटेर रू. २ करोड १६ लाखमा सीमित भएकोे छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २५ दशमलव ७१ प्रतिशत घटेर ८ लाखमा सीमित भएको छ ।

- गत अवमा रहेको ५४ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २७ दशमलव ४३ गुणा, प्रतिशेयर आम्दानी ५ दशमलव ४८ छ । हालको शेयर मूल्य नेटवर्थको तीन गुणा छ ।