बीओके र सिभिलले किन कमाउन सकेनन् ?

13 May,2016
  • bank_of_Kathmandu_5_12_2016_2_14_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : अधिकांश बैंकले आकर्षक नाफा वृद्धि गरिरहेका बेला बिहीबार वित्तीय विवरण सार्वजनिक गरेका बैंक अफ काठमान्डू र सिभिल बैंकले भने लगानीकर्तालाई खासै उत्साह दिन सकेनन् । 
 
लुम्बिनी बैंकसँग मर्ज प्रक्रियामा रहेको बीओकेको वित्तीय सूचकले लगानीकर्ता तान्ने देखिंदैन । कुनै बेला सेयर बजारको किङ मानिने बीओके मेलम्ची काण्डमा फसेसँगै कमाई पनि सुस्त बनेको हो । 
 
बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा ३० लाख ९२ हजार रूपैयाँले मात्र बढाउन सफल भएको छ । यो नाफा अत्यन्त कम हो । गत वर्ष ४८ करोड चार लाख २१ हजार नाफा कमाएकामा यसपटक ४८ करोड ३५ लाख १३  हजार मात्र भएको हो । 
 
दुई अर्ब ६७ करोड १४ लाख ६८ हजार रूपैयाँ चुक्ता पुँजी भएको यस बैंकको रिजर्भ कोषमा एक अर्ब ६७ करोड ६७ लाख ६६ हजार रूपैयाँ छ । निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सुस्तमात्र सुधार भएको छ । 
 
बैंकको निक्षेप ४० अर्ब ७१ करोड ९८ लाख ५६ हजार पुग्दा ऋण ३४ अर्ब ८५ करोड ५२ लाख १८ हजार प्रवाह भएको छ । बीओकेले नौ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रोभिजनमा राखेको छ भने ५५ लाख ९२ हजार राइट ब्याक गरेको छ । 
 
बैंकको खराब कर्जाको अनुपात पनि तुलनात्मकरूपमा धेरै देखिएको छ । तेस्रो त्रैमासको रिपोर्ट अनुसार खराब कर्जा अनुपात ३.७६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २४ रूपैयाँ १३ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय ६२ रूपैयाँ ७७ पैसा पुगेको छ । 
 
यसैगरी, सिभिल बैंकले पनि आफ्नो वित्तीय परफमेन्स आकर्षक बनाउन सकेको छैन । तेस्रो त्रैमासमा बैंकले १९ करोड ९० लाख ७६ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा बैंकले नाफा जम्मा ८५ लाख २९ हजारले मात्र वृद्धि गरेको हो । यो वृद्धिदर निकै न्यून हो । 


 
तीन अर्ब आठ करोड २७ लाख ७९ हजार रूपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४० करोड ४३ लाख ९८ हजार रूपैयाँ रहेको छ । बैंकले प्रोभिजनमा २१ करोड ९१ लाख १३ हजार छुट्टयाएको छ भने १० करोड १४ लाख चार हजार राइट ब्याक गरेको छ । 
 
प्रतिसेयर आम्दानी आठ रूपैयाँ ६१ पैसा अनि प्रतिसेयर नेटवर्थ एक सय १३ रूपैयाँ १२ पैसा पुगेको छ ।