छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, २३ वैशाख २०७३)

05 May,2016
  • chhimak123_5_5_2016_12_31_44.jpg

२०७२/७३ आवको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ७१ दशमलव २६ प्रतिशतले बढेको छ । बैङ्कले गत फागुनमा भएको साधारणसभाले पारित गरेको ४० प्रतिशत बोनस शेयर र १२ दशमलव ७० प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभर बट जोन (७५ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : ६१ दशमलव २८ बिन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने औसत मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, ट्रेण्ड लाइनभन्दा तल र ७ दिने औसत मूल्य रेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ९ सय ९६ मा टेवा र मूल्य महँगिएमा रू. २ हजार ५८ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको तेस्रो त्रैमासमा खुद नाफा करीब ७१ दशमलव २६ प्रतिशत बढेर रू. ३३ करोड २ लाख पुगेको छ । गत आवमा रहेको रू. १ करोड ४१ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले र खुद ब्याज आम्दानी ५२ प्रतिशत र सञ्चालन नाफा ६९ दशमलव ४९ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ६७ दशमलव ९७ प्रतिशतबाट घटेर ५५ दशमलव ४४ प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी ३९ दशमलव ५१ प्रतिशत बढेर रू. १ अर्ब २५ करोड र ब्याज खर्च २४ प्रतिशत बढेर रू. ५० करोड ३३ लाख पुगेको छ ।

- रू. ३ अर्ब ८१ करोड कुल निक्षेप सङ्कलन गरी रू. ९ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ ।

- कर्मचारी खर्च ५२ दशमलव १७ प्रतिशत, कुल सञ्चालन आम्दानी ४७ प्रतिशत र अन्य सञ्चालन खर्च २४ दशमलव ९५ प्रतिशत बढेको छ ।

- बैङ्कको स्थिर सम्पत्ति २ दशमलव ९४ प्रतिशत र अन्य सम्पत्ति ३८ दशमलव ७३ प्रतिशत बढेकोे छ ।

- बैङ्कले सम्भावित जोखीमवापतको व्यवस्थामा रकम ६१ दशमलव ५१ प्रतिशत बढाएर रू. ३ करोड ९६ लाख पुर्‍याएको छ ।

- पूँजीकोष लागत ७ दशमलव ५ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ प्रतिशत रहेको छ ।

- बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव २४ प्रतिशत र सीडी रेशियो १ सय ३४ प्रतिशत रहेको छ ।