सेन्चुरीको हकप्रद बिक्री भदौ ५ देखि खुला, १० कित्ता हुनेले ३ कित्ता भर्न पाउने

03 Aug,2016
  • century_8_3_2016_12_10_40.jpg
नेपाली पैसा 
काठमाडौं : सेन्चुरी कमर्सियल बैंकले भदौ ५ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
 
बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । अर्थात् १० सेयर हुनेले थप तीन कित्ता हकप्रद सेयर पाउनेछन् । हकप्रद भर्ने म्याद असोज ९ गतेसम्म हुनेछ । 
 
हकप्रद निष्कासनका लागि बैंकले मंगलबार सेयरधनी दर्ता किताब बन्द गरिसककेको छ । 
सेन्चुरीले एक सय रूपैयाँ अंकित मूल्यको ८५ लाख २२ हजार चार सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 
 
राष्ट्र बैंकले चुक्ता पुँजी बढाएर आठ अर्ब पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बैंकले हकप्रदको बाटो रोजेको हो । 
 
हाल सेन्चुरीको चुक्ता पुँजी दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ छ । यही चुक्ता पुँजीको १०ः३ अनुपातमा हकप्रद बिक्री गर्न लागिएको हो ।
 
 हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ६९ करोड ३० लाख ४० हजार रूपैयाँ पुग्नेछ । 
 
यसआधारमा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ठूलोमात्रामा हकप्रद जारी, बोनस वितरण गर्नुपर्छ । यसबाहेक मर्ज तथा एक्वायरमा जाने बाटो पनि बाँकी हुन्छ । 
बैंकले बुधबार जारी गरेको हकप्रद निष्कासनसम्बन्धी विवरण अनुसार आर्थिक वर्ष २०७३–७४ मा चुक्ता पुँजी आठ अर्ब एक करोड २४ लाख आठ हजार पुर्याउने उल्लेख छ । 
 
यसअवधिमा प्रतिसेयर नेटवर्थ पनि एक सय पाँच रूपैयाँ १० पैसा कायम हुने बैंकको प्रक्षेपण छ ।