सेन्चुरीको हकप्रद खुल्यो, १० कित्ता हुनेले ३ कित्ता असोज ९ सम्म भर्न पाउने

21 Aug,2016
  • century_8_21_2016_2_52_18.jpg
नेपाली पैसा
काठमाडौं : सेन्चुरी कमर्सियल बैंकको आइतबारदेखि हकप्रद सेयर निष्कासन खुला भएको छ ।

बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । अर्थात् १० सेयर हुनेले थप तीन कित्ता हकप्रद सेयर पाउनेछन् । हकप्रद भर्ने म्याद असोज ९ गतेसम्म हुनेछ ।

साउन १७ गतेसम्म कायम सेयरधनीलले सेन्चुरीको हकप्रद भर्न पाउनेछन् । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ८५ लाख २२ हजार चार सय कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको हो ।

सिभिल क्यापिटल मार्केट लिमिटेड, कमलादी र सेन्चुरी कमर्सियल बैंकको सबै शाखाहरूबाट हकप्रद सेयरको आवेदन फारम लिन र बुझाउन पाइनेछ ।  राष्ट्र बैंकले चुक्ता पुँजी बढाएर आठ अर्ब पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बैंकले हकप्रदको बाटो रोजेको हो ।

हाल सेन्चुरीको चुक्ता पुँजी दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ छ । यही चुक्ता पुँजीको १०ः३ अनुपातमा हकप्रद बिक्री गर्न लागिएको हो ।  हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ६९ करोड ३० लाख ४० हजार रूपैयाँ पुग्नेछ ।

यसआधारमा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ठूलोमात्रामा हकप्रद जारी, बोनस वितरण गर्नुपर्छ । यसबाहेक मर्ज तथा एक्वायरमा जाने बाटो पनि बाँकी हुन्छ ।

बैंकल सार्वजनिक गरेको हकप्रद निष्कासनसम्बन्धी विवरण अनुसार आर्थिक वर्ष २०७३–७४ मा चुक्ता पुँजी आठ अर्ब एक करोड २४ लाख आठ हजार पुर्याउने उल्लेख छ ।

यसअवधिमा प्रतिसेयर नेटवर्थ पनि एक सय पाँच रूपैयाँ १० पैसा कायम हुने बैंकको प्रक्षेपण छ । सेन्चुरी कमर्सियल बैंकले गएको आर्थिक वर्षमा ३८ करोड २६ लाख २५ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

चुक्ता पुँजी दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ पुगेको सेन्चुरीको रिजर्भ कोषमा ५३ करोड २६ लाख ७५ हजार रूपैयाँ छ ।