यसरी लगानीकर्ताको मन जित्दैछ एभरेस्ट, चुक्ता पुँजी दुई अर्ब ७४ करोड हुँदा जगेडामा ६ अर्ब

14 Nov,2016
  • everest_11_14_2016_10_51_50.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट बैंकले लगानीकर्ताको मन जित्ने वित्तीय विवरण सार्वजनिक गरेको छ । 
 
आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने भएका कारण  यसपटक कति बोनस सेयर दिन्छ भनेर आमलगानीकर्ता बीच हट केक बनिरहेको एभरेस्टले लाभांश घोषणाभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गरेर थप आशावादी हुने अवस्था बनाइदिएको छ । 
 
वित्तीय विवरणमा जस्तै लगानीकर्तालाई दिने लाभांश पनि त्यत्तिकै आकर्षक आएमा यसले लगानीकर्ताको सजिलै मन जित्ने विश्वास गर्न सकिन्छ । 
 
बजारमा अनेकन हल्ला चले पनि एभरेस्टले कति लाभांश पस्किंदैछ भन्ने अहिलेसम्म सोही कम्पनी व्यवस्थापनलाई मात्रै अनुमान होला । 
 
एभरेस्ट बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ५१ करोड ३४ लाख २१ हजार रुपैयाँ हात परेको छ । 
 
यो नाफा गत वर्षको भन्दा १४ करोड ९७ लाख १८ हजार रुपैयाँले बढी हो । प्रतिशतमा हिसाब गर्दा नाफा बढोत्तरी करिब ४१ प्रतिशत हुन आउँछ । यो नाफालाई आकर्षक भन्न कुनै आपत्ति हुँदैन । 
 
गत वर्ष एभरेस्टले ३६ करोड ३७ लाख तीन हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । चुक्ता पुँजी दुई अर्ब ७४ करोड २६ लाख चार हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा भने ६ अर्ब ३८ करोड ३० लाख एक हजार रुपैयाँ रहेको छ । 
 
चुक्ता पुँजी भन्दा लगभग ४ अर्ब रुपैयाँ बढी जगेडा कोष नै बैंकको सबैभन्दा सबल अनि लगानीकर्ता तान्ने माध्यम हो । 
 
सेयर बजारका लगानीकर्ता यतिबेला एभरेस्टमा झुमिनुमा पनि यही जगेडा कोष प्रमुख कारण हुन सक्छ ।  
 
बैंकले खुद ब्याज आम्दानीमा पनि गत वर्षको भन्दा २५ करोड १४ लाख ६३ हजार रुपैयाँ बढोत्तरी गर्न सफल भएको छ । 
 
यस आवमा बैंकले ९१ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६५ करोड ९४ लाख ३४ हजार रुपैयाँ मात्र रहेको थियो ।
 
एभरेस्टले सम्भावित जोखिमका लागि चार करोड ९७ लाख ७३ हजार रूपैयाँ छुट्याएको छ । ८९ अर्ब १५ करोड ५० लाख ९८ हजार रुपैयाँ निक्षेप रहेको बैंकले ६९ अर्ब ५३ करोड ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
खराब कर्जा ०.३६ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय ३९ रुपैयाँ ७३ पैसा रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी जम्मा ७२ रूपैयाँ ११ पैसामात्र थियो ।