नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ३७.३२% ले बढेर २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले यसैअवधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३४.४६% र सञ्चालन नाफा ३६.६६% ले बढेको छ ।
यसले पनि नाफा बढ्न सहयोग पुर्याएको देखिन्छ । यस्तै, पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि १८.४९% ले बढेको छ । बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन १८.७५% र कर्जा लगानी ६.९६% बढाउन सफल भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १३ पैसाले घटेर २१ रुपैयाँ ४० पैसामा सीमित भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि २ रुपैयाँ ६ पैसाले घटेर १४२ रुपैयाँ ६३ पैसामा झरेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा १.२०% बाट बढेर १.७२% भएको छ ।