गुराँस लाइफको शाखा अत्तरियामा

25 May,2016
  • Gurans_Life_Insurance_5_26_2016_11_44_20.jpg

जेठ ११, काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा स्थापना गरेको छ । गत आइतवार बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले एक समारोहबीच उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा केसीले नेपालमा जीवन र निर्जीवन बीमा गराउने प्रचलन कम रहेकाले बीमा कम्पनीले बीमा सेवालाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिए । देशको कुल जनसङ्ख्याको करीब ६/७ प्रतिशतले मात्र अहिले जीवन बीमा गरेको उल्लेख गर्दै अध्यक्ष केसीले दावी भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्ने र ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्करप्रसाद दाहालले सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, डँडेलधुरामा गुराँस लाइफको शाखा रहेको जानकारी दिँदै कम्पनीको सेवा कुनै न कुनै रूपमा सुदुरपश्चिमका सबै जिल्लामा सञ्चालन रहेको जानकारी दिए । जीवन बीमामा तल्लो वर्गको पनि पहुँच आवश्यक रहेकाले गुराँस लाइफले १० हजारदेखि १ लाख ५०हजार रुपैयाँसम्मको बीमा योजना कार्यान्वयनमा ल्याएको उनको भनाइ थियोे ।