गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, २४ भदौ २०७३)

09 Sep,2016
  • gurans_life_insurance_resize_9_11_2016_12_02_04.jpg


कम्पनीको २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा दुई गुणा बढेको छ । कुल दाबी भुक्तानी सङ्ख्या ५५ दशमलव ८४ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती चित्र : अन्तिम दोस्रो दिनमा लङ लेग्ड डोजी बनेको छ । यसले आगामी दिनमा शेयर प्याटर्न परिवर्तन हुने देखाउँछ । अन्तिम दिनमा शेयर मूल्य बढेसँगै कारोबार भएको शेयर परिमाण पनि आगामी दिनमा बढ्ने देखिन्छ ।

आरएसआई : न्यूट्रल जोन (६८ दशमलव ११ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन २३ दशमलव ९२ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ९ सय १५ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजारमा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा दुई गुणा बढेर रू. २ करोड २३ लाख पुगेको छ । आम्दानी २६ दशमलव ३६ प्रतिशत र आय ४२ दशमलव १६ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १ दशमलव ८८ प्रतिशतबाट बढेर ४ दशमलव ४६ प्रतिशत पुगेको
छ ।

- जगेडा कोष ८ दशमलव ६६ प्रतिशत बढेर रू. १८ करोड ५८ लाख र बीमा कोष ४७ दशमलव ३९ प्रतिशतले बढेर रू. २ अर्ब २५ करोड पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ६४ दशमलव ६३ प्रतिशत बढेर रू. ७ करोड ६० लाख पुगेको छ ।

- व्यय ४१ दशमलव २१ प्रतिशत बढेर रू. ३७ करोड ७१ लाख पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ४४ दशमलव ४६ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू १९ प्रतिशत बढेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या २ हजार ६ सय १ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ६४ छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ४ दशमलव ४७ र पीई रेशियो साढे २ सय १२ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ७ गुणा छ ।