कर्णाली डेभलपमेन्ट बैंकको ७९ हजार कित्ता सेयर लिलामीमा, मंसिर २३ अन्तिम म्याद

17 Nov,2016
  • auction1_11_17_2016_12_15_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकले ७९ हजार दुई सय ३८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । 
 
बैंकले गत जेठ–असारमा हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका साधारण र संस्थापक समूहका सेयर लिलामीमा बिक्री गर्न लागेको हो । जसमध्ये साधारणतर्फको २४ हजार नौ सय ४८ कित्ता र संस्थापकको ५४ हजार दुई सय ९० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागिएको हो । 
 
न्यूनतम एक सय रूपैयाँ तोकिएकाले आवेदकले त्यसभन्दा बढी मूल्य तोकी टेन्डर गर्नुपर्नेछ । बढी रकम प्रस्ताव गर्नेले प्राथमिकताका आधारमा सेयर पाउनेछन् । लगानीकर्ताले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 
 
कर्णालीको लिलामी सेयरमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ । मंसिर १६ गतेदेखि बोलपत्र आवेदन खुला हुनेछ । 
 
मंसिर २३ गतेभित्र बोलपत्र दर्ता गर्ने अन्तिम म्याद तोकिएको छ । संस्थापकको मंसिर २६ गते दिउँसो १ बजे र सर्वसाधरण समूहको सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ ।