नेपाल बैंकले देखायो विरासत, खुद नाफा तीन अर्ब

11 Aug,2016
  • nepal-bank-limited_8_11_2016_12_21_04.jpg
नेपाली पैसा 
काठमाडौं : मुलुककै सबैभन्दा पुरानो नेपाल बैंकले तीन अर्ब एक करोड ८७ लाख ८२ हजार रूपैयाँ खुद नाफा कमाएर आफ्नो गुमेको विरासत फेरि एकपटक ब्युँताएको छ । 
 
विगतमा खराब कर्जाले थला परेको बैंकले आर्थिक वर्ष २०७२–७३ को अपरिस्कृत वासलतमा तीन अर्ब नाफा कमाएर आफूलाई ‘टपर बैंक’का रूपमा स्थापित गरेको हो । 
 
अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २ अर्ब ५३ करोड ४९ लाख ३३ हजार रूपैयाँ बढेको विवरण बैंकले सार्वजनिक गरेको छ । जबकी अघिल्लो आवमा बैंकको नाफा जम्मा ४८ करोड ३८ लाख ४९ हजार रूपैयाँमात्र थियो । 
 
खुद नाफामात्र बढोत्तरी भएको होइन, बैंकले वर्षौदेखि ऋणात्मक रहेको रिजर्भ कोषलाई पनि यसपटक सकारात्मक बनाउन सफल भएको छ । 
 
नेपाल बैंकले रिजर्भ कोष ३८ करोड ४७ लाख १६ हजार रूपैयाँले धनात्मक भएको देखाएको छ । वर्षको अन्तिम त्रैमासको रिपोर्टमा हरेक सूचकहरूमा गुणात्मक सुधार भएको पाइन्छ । 
 
चुक्ता पुँजी ६ अर्ब ४६ करोड ५० लाख दुई हजार रूपैयाँ रहेको यो बैंकले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउन त्यति समस्या पर्ने देखिंदैन । 
 
बैंकले क्रमिकरूपमा व्यापार विस्तार गर्दै गएको छ । ८९ अर्ब रूपैयाँभन्दा बढी निक्षेप लिएर ६३ अर्बभन्दा बढी कर्जा प्रवाह गर्न सक्नुलाई बैंकको सफलताकै रूपमा लिन सकिन्छ । 
 
नेपाल बैंकले चार अर्ब ६९ करोड १२ लाख ६५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ३५ करोड ६५ लाख १६ हजार रूपैयाँ सम्भावित जोखिममा छुट्याउँदा ६२ करोड ९३ लाख १५ हजार रूपैयाँ राइट ब्याक पनि गरिएको छ । 
 
खराब कर्जालाई २.७२ प्रतिशतमा झारेको यो बैंकको प्रतिसेयर आम्दानी ४६.६९ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.९५ रूपैयाँ रहेको छ ।