Market Closed

नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को सातादेखि काम सुरु

05 Nov,2019
  • tnnel_2_11_5_2019_11_41_05.jpg
सञ्चिता घिमिरे /रासस
 
काठमाडौं : नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुंगा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभई त्यस स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले यसलाई अझै महत्वका साथ हेरिएको छ । नेपालको सडक पूर्वधारमा यो पहिलो र अत्याधुनिक संरचना हो । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुरुङमार्गको लगानी आगामी ७ वर्षमा उठ्ने उल्लेख छ । यो सुरुङमार्ग र ‘फ्लाई ओभर’ लाई काठमाडौँ प्रवेशमार्गमा हुने सवारी जाम हटाउने कडीका रुपमा समेत रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण कार्य अघि बढेको हो ।

प्राविधिक दृष्टिकोणले ५ सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको समेत व्यवस्था मिलाइन्छ । नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका ३ सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यसलाई नै पहिलो सुरुङमार्ग मानिन्छ । झण्डै डेढ दशक अघि परिकल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापन लगायतका कारणले सुरुङमार्ग निर्माणको योजना कार्यान्वयनमा आउन सकेको थिएन ।



जाइकाले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच सम्झौता गरिएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रुपमा हुने ट्राफिक जाम हट्ने सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजंग थापाले बताए ।

सो स्थानमा सयौँको सङ्ख्यामा सवारीसाधन र धेरै यात्रु अलपत्र पर्ने गरेकामा अब त्यसको समाधान हुनेछ ।  पेट्रोलियम पदार्थ पनि पनि हुनेछ । उनले भने , “त्यस सडकका हिसाबले सुरुङमार्गभन्दा उपयुक्त अरु समाधान देखिएको छैन ।” ४२ महिना अवधिमा निर्माण पूरा गर्न पर्याप्त समय भएको विभागले बताएको छ । कम्पनीका प्रतिनिधि अहिले आवश्यक सामाग्री ल्याउन जापान गएका र उताबाट फर्किएलगतै आगामी साताबाट काम सुरु गरिने उनले जानकारी दिए ।

निर्माण कम्पनीलाई आवश्यक उपकरणको व्यवस्थापन गर्न झण्डै ६ महिना लाग्छ । उनले भने, “यो अवधि पनि यही ४२ महिनाभित्रै पर्छ ।” आयोजना अन्तर्गत साढे नौ मिटर र ४ मिटर गरेर २ वटा सुरुङको निर्माण हुनेछन् । २ ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । 
 
३ लेन नपुगे पनि मुख्य सुरुङमार्गमा ३ सवारीसाधन सहजै आवतजावत गर्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुनेछ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशका द्वार बन्नेछन् । सुरुङमार्ग खन्दा आएका मजबुत ढुंगा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताए । कमजोर ढुंगा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले जानकारी दिए । 
 
सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष समेत हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेशी नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ । निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार संलग्न हुने बताइएको छ । कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने तथा सम्भव भएसम्मका उपकरण यहीँको प्रयोग गर्नेछ ।
 
पेटी ठेक्कामार्फत साना–साना कामका लागि नेपाली कम्पनीलाई जिम्मेवारी दिइने छ। हाज्मालगायतका अधिकांश जापानी निर्माण कम्पनीले नेपालमा सम्पन्न गरेका वा अहिले काम भइरहेका आयोजनामा समस्या नपाइएको प्रमुख थापाले बताए । सोही कम्पनीले यसअघि पोखरामा खानेपानी आयोजना, विसं २०७२ को भूकम्पपछि सिन्धुलीलगायतका जिल्लामा विभिन्न निर्माणका काम गरेको थियो ।

 
 अहिलेसम्म निर्माणका क्रममा ढिलाइ वा निर्माणमा त्रुटि पाइएको छैन । जाइकाको ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु गरिएको थियो । यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ । जसमध्ये जाइकाले १६ अर्ब सहयोग गर्नेछ । ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । 
 
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । करिब ६ अर्ब रुपैयाँ प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ। काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । 
 
धादिङको धुनिबेँशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । सुरुङमार्गका गत लागि असोज ६ गते जापानस्थित हाज्मा आङ्दो कर्पोरेसनसँग सम्झौता भएको थियो । 
 

Post Your Comment