Market Closed

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, हेर्नुहोस् कसले कति जिते

02 Dec,2019
  • vote_12_2_2019_4_13_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : विभिन्न ५२ पदका लागि मंसिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा सरकारको नेतृत्व गरेको नेकपाले ३० स्थानमा विजय हासिल गरेको छ । त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । 
 
समाजवादी पार्टी नेपालले ४ र राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ स्थानमा विजयी हासिल गरेका छन् । १ स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् । नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने १ प्रदेशसभा सदस्य, १ उपमहानगर प्रमुख र ११ वडाध्यक्ष पदमा विजयी हासिल गरेको हो । 
 
समाजवादीका उम्मेदवारले ४ र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले ३ वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भएका छन् । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्यको १ पद जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् । प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जितदोहोर्याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट संख्या बढाएको छ ।
 
बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको संख्या बढाएको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीनवटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट ७ महिला, ७ मधेशी, १८ आदिवासी जनजाति र १ अल्पसंख्यकको चयन भएको छ ।

Post Your Comment