Market Closed

गोदावरी सडक १६ मिटर चौडाइको हुने, उपत्यकामा थप १० सडकको पनि काम हुँदै

14 Jan,2020
  • godawari_1_14_2020_1_44_27.jpg
 
 
काठमाडौं : ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधार निर्माण नगरी सडकको चौडाइ बढाउन लागिएको हो । सडक कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढल लगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । 
 
२० मिटरको मापदण्ड भए पनि त्यसलाई कम गरेर पनि सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका संसदबीच सहमति भएको थियो । यस सडकमा कालोपत्र मापदण्डानुसार नै हुने आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठले बताए । २० मिटरमा १६ मिटरमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण हुने गरी कार्य अघि बढाइनेछ ।

सडकको चौडाइकै विषयमा विगतमा निर्माण व्यवसायी र स्थानीयवासीबीच विवाद भएको थियो । उनले भने, “जनप्रतिनिधिमार्फत समस्या समाधान भएकाले अहिले काम अघि बढाउने वातावरण बनाइएको हो ।” स्थानीयवासीले घरसँगै जग्गाको मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन विगतका वर्षमा भौतिक प्रगति कम थियो ।

सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन सकिएको थिएन । ७.६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिँदैछ । 
 
यो सडक जस्तै उपत्यकामा अन्य १० वटा सडक पनि निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा केहीको थोरै समय मात्र बाँकी हुँदा पनि भौतिक प्रगति भने निकै कम छ । ठेक्का सम्झौताको लामो समय बितेको भन्दै अहिले आयोजनाले जनप्रतिनिधिसँगको समन्वयमा काम अघि बढाइरहेको छ ।
 
रासस
 

Post Your Comment