Market Closed

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

26 Feb,2020
  • chandra_2_2_26_2020_4_15_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकालले आगामी चैतमा हुने चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । हाल ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष छन् । उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफू सबै जना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो ।

मैले पनि मेरा सहकर्मी, सहृदयी सबै जना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा समृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । साथै, उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने पनि बताए ।
 
‘महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा  वस्तुगत उद्योग वाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो,’ उनले भने । कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्व उपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगायत निजी क्षेत्रको ठूलो उपस्थिति रहेको थियो । 
 
को हुन् चन्द्र ?  
 
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनले महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका छन् । उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् ।
 
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स  एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन् । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।
 

Post Your Comment