Market Closed

खाना पकाउन बिजुली प्रयोग गर्न प्राधिकरणको आव्हान, लक डाउनमा जरीवना नलाग्ने

25 Mar,2020
  • nea_3_25_2020_2_17_14.jpg
नेपाली पैसा
 
काठमाडौं : लक डाउन घोषणासँगै उद्योग तथा कलकारखाना बन्द हुँदा विद्युत् खपत पनि घटेको छ । अन्य दिन बिहानको पिक आवरमा १ हजार १ सय मेगावाट विद्युत् माग हुने गरेकोमा मंगलबार बिहान ८ सय मेगावाट मात्रै माग रहेको विद्युत प्राधिकरणले जानकारी दिएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि देशव्यापी लक डाउन घोषणा गरेको छ । यो बेलामा अत्यावश्यक सेवाबाहेक काम बन्द गर्न निर्देशन जारी गरिसकेको छ । यससँगै मंगलबारदेखि देशभरका उद्योग, कलकारखाना र धेरै कार्यालय बन्द छन् ।
 
उद्योग बन्द भएसँगै विद्युत् माग घटेकाले उपभोक्तालाई विद्युत् अभाव नहुने प्राधिकरणले जनाएको छ । यो समयमा विद्युत् अपुग नहुने भएकाले उपभोक्ताले खाना पकाउन र अन्य कामका लागि बिजुली प्रयोग गर्न प्राधिकरणको सुझाव छ । ‘सेवा अवरुद्ध भए चौबीसै घण्टा मर्मतका लागि टोली तयार राखेका छौं,’ ‘मर्मतमा जाने, नो लाइट सेवा र सबस्टेसन र भार प्रेषण केन्द्रका कर्मचारीलाई कार्यालयमै आइसोलेसनमा राखिएको छ ।’ ‘कार्यालय प्रमुखले सिफ्ट ड्युटी, नो लाइट, मिटर सिकायत र मर्मत सम्भारमा खटाइने कर्मचारीको वैकल्पिक व्यवस्थासहितको अलग सूची बनाई तदनुरुप ड्युटीमा खटाउने गरिएको छ ।

यस्ता कर्मचारीलाई यथासम्भव कार्यालयमा अलगै आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको छ । कार्यालय परिसरमा बाह्य व्यक्तिको प्रवेश निषेध गरिएको छ ।  सञ्चालक समितिको बैठकपछि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले सोमबार कोरोना संक्रमणबाट आफ्ना कर्मचारीलाई बचाउन र सेवा निरन्तर बनाउन लागि विभिन्न निर्णय गरेको थियो ।

प्राधिकरण सञ्चालक समितिको बैठकले अत्यावश्यक शाखामा काम गर्ने बाहेकका कर्मचारीलाई घरमै तयारी अवस्थामा रहन र काम पर्दा मात्रै कार्यालय आउन निर्देशन दिएको छ । प्राधिकरणले चैत २१ गतेसम्मका लागि आफ्ना सबै महसुल काउन्डर र मिटर रिडिङको काम बन्द गर्ने निर्णय गरेको छ । यस अवधिमा विद्युत् महसुल नतिरे पनि सेवा अवरुद्ध नगर्ने र जरिवाना नलिने निर्णय गरेको छ । 
 

Post Your Comment