Market Closed

मुलुककै सबैभन्दा ठूलो सबस्टेसनको काम लक डाउनमा धमाधम, असारभित्र सञ्चालन

21 May,2020
  • IMG_20200223_113709_5_21_2020_2_20_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लक डाउन) अवधिमा पनि धनुषामा निर्माणाधीन ४००–२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ ।स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्णरुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा आयोजनाको निर्माण भइरहेको हो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।
 
सबस्टेसनमा रहने उपकरण जडान, परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैह्रप्राविाधिक गरी झण्डै ८० जना जनशक्ति खटिएका छन् । यही असारभित्रमा सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

‘गत पुस–माघमा तराइमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित भयो, त्यसपछि कोरोनाका कारण चिनियाँ इन्जिनियरहरु आउन नसक्दा काम प्रभावित भयो ।  नेपालमा लागू गरिएको लक डाउनले निर्माण प्रभावित भयो, अहिले सबै सुरक्षात्मक उपाय अपनाएर काम धमाधम भइरहेको छ, कार्यकारी निर्देशक घिसिङले भने ।
 
 ‘चीनबाट विमानमार्फत भारतको कलकत्ता ल्याइएका सबस्टेसनका उपकरणहरु दुवै मुलुकमा लागू गरिएको लक डाउनका कारण ल्याउन सकिएको थिएन । सबै निकायसँग समन्वय गरी एक हप्ताअघि उपकरणहरु कलकत्ताबाट आयोजनास्थलमा ल्याइसकिएको छ । अहिले उपकरणहरुको जडान र परीक्षण धमाधम भइरहेको छ ।’ 


 
कलकत्ता विमास्थलमा ल्याइएका उपकरणहरु अलपत्र परेपछि लक डाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गरेका थिए । त्यसपछि ९ वटा ट्रकमार्फत उपकरणहरु आयोजनास्थलमा ल्याइएको थियो । चीनमा उत्पादित उपकरणहरु भएकाले सञ्चालन परीक्षणका लागि चिनियाँ इन्जिनियरहरु लक डाउन सुरु हुनुभन्दा पहिले नै आइसकेका छन् । 

उपकरणको सञ्चालनमा एक जना भारतीय इन्जिनियर आउनुपर्ने तर लक डाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्न सक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिए । सबस्टेसनमा ३१५ एमभीएका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब ९ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्दछन् ।

‘सम्भव भएसम्म तीनवटै र नभएमा कम्तिमा पनि दुईवटा पावर ट्रान्सफर्मर असारभित्रमा चार्ज गर्छौ’, कार्यकारी निर्देशक घिसिङले भने । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब १ हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ । साथै, ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने पूर्वाधार तयार हुनेछ । 
 
२२० केभी गोंगर (दोलखा)—खिम्ती—ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोशीको विद्युत् त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा  ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बंैकिङ गर्न समेत बाटो खुल्नेछ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । 
 
ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रस बोर्डर प्रसारण लाइने २२० केभीमा सञ्चालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुनेछ । सबस्टेसनमा ३१५ एमभीएका ३ वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब ९ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्दछन् । 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सबस्टेसन निर्माण भारती भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियिरिङले गरिरहेका छन् । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब २ अर्ब रुपैयाँ लगानीमा सबस्टेसन निर्माण भइरहेको हो । 
 
प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००–२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युतको आन्तरिक खपत द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण, वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो । 
 

Post Your Comment