Market Closed

सेयर खरिदबिक्रीमा राम्रो बन्यो माहोल

08 Jul,2020
  • NEPSE_building_7_8_2020_1_06_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर खरिदबिक्रीमा उत्साह जारी छ । कारोबार रकम अर्ब माथि रहेकाले बजारमा पर्याप्तमात्रामा क्रेता र बिक्रेता रहेको बुझ्न सकिन्छ । अल्पकालीन कारोबारी पनि सक्रिय हुँदा सूचक सामान्य दबाबमा परे पनि सेयर खरिदबिक्रीले लगानीकर्तालाई उत्साहित बनाइरहेको देख्न सकिन्छ । बजारमा खासै ठूलो अंकको उतारचढाव देखिएको छैन । यसले पनि सूचक तलमाथि गरे पनि भविष्यमा नेप्से समग्रमा सकारात्मक गतिमा अघि बढ्ने विश्वास गर्न सकिन्छ ।

यतिबेला वित्तीय प्रणालीमा पर्याप्तमात्रामा तरलता रहेको छ । साउन लागेपछि ब्याजदर थप सस्तो हुने अनुमान गरिएको छ । केन्द्रीय बैंक अघि सार्ने मौद्रिक उपकरणहरुले पनि ब्याजदर थप तल झार्न सहयोग पुग्ने विश्लेषणहरु भइरहेका छन् । यसले पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्नेछ । मुख्यगरी लगानीकर्ताको मनोविज्ञानको प्रमुख भूमिका रहने गर्छ । सेयर बजार सुधारका लागि अघि बढाइएका कदमहरुले पनि लगानीकर्ताको आत्मविश्वास बलियो बनेको देख्न सकिन्छ । सेयर बजार तलमाथि गर्दै अघि बढ्ने हो । तर औसत गति कस्तो र कता जाँदैछ भन्ने पक्ष बढी महत्वपूर्ण हुने गर्छ ।

नेप्से सूचक बुधबार १०.१३ अंकले घटेर १३२६.५३ विन्दुमा अडिएको छ । १७९ कम्पनीको १ अर्ब ७ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ लाख ७७ हजार ७०६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।  कारोबार भएका ट्रेडिङ र म्युचअल फन्ड समूह बाहेकका अन्य सूचक घटेका छन् ।


सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको २५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै कमाउनेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यसदिन गुमाउनेमा तारागाँउ रिजेन्सिका लगानीकर्ता रहेका छन् । यसको भाउ १५ रुपैयाँ अर्थात् ६.९८% ले घटेर २ सय रुपैयाँमा आएको छ ।

Post Your Comment