Market Closed

स्मार्टफोन बिक्रीमा हुवावेको नयाँ रेकर्ड : सामसुङलाई पनि उछिन्यो

30 Jul,2020
  • huwaye_7_30_2020_2_36_00.jpeg
 
बेइजिङ : चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र मुलुकहरुमा पठाएको छ । जबकी सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । 
 
अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमै (चीनमा) हुवावेका सेटहरुको मागमा तीब्र वृद्धि भइरहेको छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ । क्यानालिसका अनुसार हुवावेका स्मार्टफोन निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । यद्दपि, क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् । 
 
दूरसंचार नेटवर्किङ उपकरण उत्पादनमा वर्चस्व कायम गर्न थालेको हुवावेको विषयमा संयुक्त राज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ । अमेरिकाले हालैमात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ । यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ । 
 
रासस–एएफपी

Post Your Comment