Market Closed

सेयर बजारका लागि खतिवडाले के गरे, अब नयाँ अर्थमन्त्रीसँग लगानीकर्ताको अपेक्षा के ?

10 Sep,2020
  • Yuvaraj-khatiwoda_9_10_2020_7_43_40.jpg
 
इशारा कोइराला 
 
काठमाडौं : डा.युवराज खतिवडा अर्थमन्त्रीमा आएसँगै सेयर बजार तरंगीत बन्यो । उनको कार्यकालभर नै लगानीकर्ताले नकारात्मक रुपमा टिकाटिप्पणी गर्न छाडेनन् । खतिवडाको राजीनामा माग्दै लगानीकर्ता अनसनसम्म बस्न भ्याए । तर, यतिबेला अनुभवी लगानीकर्ताहरु भने सधैं सेयर बजारलाई अर्थमन्त्रीसँग जोडेर हेर्न नहुने बताउँछन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार नियामक निकाय प्रमुखको हैसियतले अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी हुनु स्वभाविक भए पनि सधैं अर्थमन्त्रीलाई सेयर बजारसँगमात्र जोड्न नहुने बताउँछन् ।

यता, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल पनि नियमकहरुलाई बजार सुधारका काम गर्ने अधिकार भए पनि अर्थमन्त्रीलाई सधैं सेयर बजारमा ल्याएर जोड्न नहुने बताउँछन् । उनले भने, ‘अहिले लगानीकर्ताहरु परिपक्व भइसकेका छन् । यसर्थ, सधैं यो या त्यो बाहनामा अब अर्थमन्त्रीको नाममा बजारमा चलखेल गर्नु हुँदैन ।’ तथापि, नियामक निकाय प्रमुखको हैसियतले अर्थमन्त्रीले सेयर बजारप्रति सकारात्मक धारणा भने राख्नैपर्ने उनीहरुको भनाई छ ।

यता, लगानीकर्ताहरुले पनि निवर्तमान अर्थमन्त्री डा. खतिवडाले उनको कार्यकालको अन्तिम समयमा सेयर बजार सुधारका लागि थुप्रै काम गरेको स्वीकारेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियाले भने, ‘पछिल्लो समय अर्थमन्त्री डा. खतिवडाले सेयर बजारप्रति सकारात्मक बनेर सुधारका लागि धेरै राम्रा काम गर्नुभयो ।’
 
 खतिवडाले बजार सुधारका के–के काम गरे ?
 
 लगानीकर्ताको चर्को दबाब र विरोधपछि पछिल्लो समयमा सेयर बजारमा उनले धेरै सुधारका प्रयत्न गरे । अनसन बसेर अर्थमन्त्रीको राजीनामा मागेका लगानीकर्ताको माग सम्बोधन गर्ने क्रममा खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा बजार तथा पुँजी बजार अध्ययन गर्न समिति बनाए । उक्त समितिको अध्ययनपछि केही महत्वपूर्ण सुधारका काम भए । लामो समयदेखि लगानीकर्ताको माग रहेको भ्याटको विषय समाधान भयो । सुरुमा पुँजीगत लाभकर बढाएका खतिवडाले पछि पुरानै अवस्थामा ल्याए । उनले पुँजीगत लाभकरलाई अन्तिम करका रुपमा मान्यता दिए ।

सेयर बजारमा सबैभन्दा धेरै बैंकको ब्याजदरले प्रभावित पार्छ । पछिल्लो समय ब्याजदर घटाउन खतिवडाले राष्ट्र बैंकमार्फत् धेरै पहलकदमीहरु अघि बढाए । नेप्सेको अनलाइन कारोबार प्रणाली पनि उनकै कार्यकालमा सञ्चालनमा आयो । तथापि, यसले प्रभावकारी रुपमा भने काम गर्न सकेको छैन । कोरोना संक्रमण सुरु भएपछि पनि बजार घट्न नदिन उनले केन्द्रीय बैंक र धितोपत्र बोर्डमार्फत लगानीकर्ताका प्रायः सबै माग पूरा गरिदिए । 
 
अब नयाँ अर्थमन्त्रीले सेयर बजार सुधारका लागि के–के काम गर्नु पर्ला ?
 
नयाँ अर्थमन्त्रीको प्रमुख चुनौतीका रुपमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्नु त छदैंछ । त्यसका अलावा पुँजी बजारलाई पनि सकारात्मक रुपमा लिन आवश्यक छ । विगत लामो समयदेखि चर्चामा रहेको बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिने कार्यलाई मूर्त रुपमा दिनुपर्ने अवस्था छ ।

त्यस्तै, नेप्सेको अनलाइन प्रणालीलाई प्रभावकारी बनाउन मार्गनिर्देश गर्नुपर्नेछ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएसलगायतका संस्थाहरुको संरचनात्मक सुधार र नीतिनिर्माणमा जोड दिन आवश्यक छ । त्यसको अलावा ब्याजदरलाई नियन्त्रित र स्थीर राख्न नियामकलाई आवश्यक मार्गदर्शन गर्न जरुरी देखिन्छ । 
 
अर्थमन्त्रीसँग लगानीकर्ताको के छ अपेक्षा ?
 
मुलुकको समग्र अर्थतन्त्र सुधार गर्ने अर्थमन्त्रीको अपेक्षा लगानीकर्ताले राख्नु स्वभाविक हो । सेयर बजारप्रति सकारात्मक धारणा रहेको र यसको विस्तारमा जोड दिने अर्थमन्त्री नै समग्रमा आम लगानीकर्ताको राजाईमा पर्नेछन् ।   फोरमका अध्यक्ष रौनियार सेयर बजारको पनि अविभावकत्व ग्रहण गर्न सक्ने खालको अर्थमन्त्रीको अपेक्षामा लगानीकर्ता रहेको बताउँछन् । पुँजी बजारलाई सकारात्मक रुपमा बुझेको अर्थमन्त्रीको प्रतीक्षामा आफूहरु बसेको उनी बताउँछन् । बजार सुधारका लागि यसअघि थाँति रहेका कामहरु सम्पन्न गर्नुपर्ने अवस्था छ । 
 
यता, संघका अध्यक्ष अर्याल पनि अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रलाई माथि उकास्ने क्षमता भएको अर्थमन्त्रीको प्रतीक्षामा आफूहरु रहेको बताउँछन् । ‘सेयर बजार बुझेको र यसलाई सकारात्मक रुपमा लिने अर्थमन्त्री नै अहिलेको आम अपेक्षा हो ।’
 
अर्थमन्त्रीमा क–कसको सम्भावना ?

डा. युवराज खतिवडाको बहिर्गमनसँगै अब अर्थमन्त्री को आउँछ भन्ने आँकलन सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रका दुई पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे अर्थमन्त्रीको चर्चामा छन् । तथापि, नेकपा सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त एक स्थानमा बामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै अर्थमन्त्रीमा गौतमको पनि चर्चा सुरु भएको छ । आगामी अर्थमन्त्रीमा पूर्वएमालेकै प्रतिनिधित्व रहने लगभग पक्का छ ।

यसरी हेर्दा अर्थमन्त्रीको लागि नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सम्भावना रहेको देखिन्छ । यसैगरी, युवराज खतिवडाको प्रत्यक्ष सल्लाहमा केही समय प्रधानमन्त्रीले नै अर्थमन्त्रालय सम्हालिरहने सम्भावना पनि उत्तिकै छ । स्रोतहरुका अनुसार प्रधानमन्त्री केपी ओलीले सकेसम्म अर्थ मन्त्रालय आफैंले प्रत्यक्ष चलाउन चाहेका छन् । 

खतिवडाको राजीनामासँगै यस मन्त्रालयको जिम्मेवारी आफैंले लिएका ओली कोभिड–१९ महामारीको समय रहेकाले सकभर अर्थ मन्त्रालय अरुलाई नदिने पक्षमा रहेको रहेको स्रोतहरुको भनाई छ । खतिवडा जस्तै विश्वाशिला र अर्थतन्त्र बुझेको व्यक्तिको खोजी पनि उनले गरिरहेको देखिन्छ । उनले रुचाएका व्यक्तिमा विष्णु पौडेल अग्रपंक्तिमा छन् । त्यसो त खतिवडालाई आर्थिक सल्लाहकार बनाएर बालुवाटारबाटै अर्थ मन्त्रालय चलाइरहने सम्भावना पनि उत्तिकै प्रबल छ । 
 

Post Your Comment