Market Closed

बेलायतमा कोभिड–१९ को नियम तोड्नेलाई १० हजार पाउण्ड जरिवाना

21 Sep,2020
  • uk_corona_9_21_2020_10_36_04.jpg
 
लन्डन : कोरोना संक्रमित संख्या लगातार वृद्धि हुन थालेपछि बेलायत सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने व्यक्तिलाई सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैयाँ) सम्म जरिवाना गर्ने भएकोे छ । बेलायतमा शनिबार मात्र करिब ४५ सय जना नयाँ संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।

पछिल्ला केही हप्ताको अवधिमा संक्रमित संख्या दोब्बरले बढ्न थालेको सरकारी तथ्यांकले देखाएको छ ।सेप्टेम्बर २८ यता कोरोना संक्रमित र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले कम आय स्रोत भएकालाई ५०० पाउण्ड आर्थिक सहयोग दिने पनि जनाएको छ । नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेसनमा बस्न अस्वीकार गर्नेले न्यूनतम १ हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।

पटकपटक यो नियम उल्लंघन गर्नेका लागि  जरिवाना १० हजार पाउन्डसम्म पु¥याइएको हो । यसअघि सेल्फ आइसोलेसनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो । इङल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले सबैले नियमको पालना गर्नुपर्ने बताए । प्रधानमन्त्री जोनसनले भने, ‘नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिवनाको सामना गर्नुपर्नेछ ।’ 
 
“जोखिममा रहेकालाई बचाउन तथा भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै काम गर्नुपर्छ“, उनले भने । बेलायतमा खासगरी इङल्याण्ड क्षेत्रमा महामारीको अवस्थामा कमी आएको बताउँदै सरकारले गत महिनादेखि कोरोना नियन्त्रणका उपायलाई हदैसम्म खुकुलो पारेको थियो । त्यसपछि फेरि संक्रमण चुलिएको हो । 
 
रासस–एएफपी
 

Post Your Comment