Market Closed

के लघुवित्त कम्पनीहरुको लाभांश सम्बन्धमा नकारात्मक बुझाई हावी भएको हो ?

07 Oct,2020
  • bonus-super_10_7_2020_8_58_04.jpg
नेपाली पैसा
 
काठमाडौं : केन्द्रीय बैंकले बोनस सेयरलाई प्रोत्साहन गर्न धेरै प्रतिशत नगद लाभांश वितरणमा कडाई गरेको भए पनि बजारमा भने यसको नकारात्मक बुझाई हावी भएको देखिन्छ । फेरि कतिपय लगानीकर्ताहरु पनि राम्रोसँग अध्ययन गर्नुभन्दा हल्लाकै पछि लाग्ने गरेको पाइन्छ । पक्कै पनि केन्द्रीय बैंकले लघुवित्तहरुलाई मजबुत बनाउन विगतमा जस्तो नगद लाभांश वितरण र हकप्रद सेयर जारीमा छाडा छाडेको छैन । तर सक्नेले बोनस सेयर भने मज्जाले दिन सक्नेछन् । बोनस वितरणमा कुनै बन्देज गरिएको छैन ।

सबल संस्थाले बोनस दिएर पुँजी वृद्धि गर्ने अनि कमजोरले मर्जर तथा एक्विजिसनमार्फत पुँजी बढाउनुपर्ने स्पष्ट संकेत केन्द्रीय बैंकले दिएको छ ।  यसआधारमा सबल वित्तीय संस्थाले आकर्षक लाभांश दिनेछन् भने कमजोर मर्ज तथा एक्विजिनसमा जाने लघुवित्त क्षेत्रका जानकारहरु बताउँछन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरुलाई ३०% भन्दा धेरै नगद लाभांश वितरणमा रोक लगाएको छ ।

यो नीति लगानीकर्तालाई प्रोत्साहन गर्न नै लिएको एक लघुवित्त सञ्चालकको दाबी छ । उनले भने, ‘अहिलेको विषम परिस्थितिमा लघुवित्त कम्पनीहरु नाफामुखी मात्र बन्छन् कि भनेर केन्द्रीय बैंकले बोनसलाई प्रोत्साहन गर्दै धेरै नगद वितरणमा आंकुश लगाएको हो ।’ यसको मुख्य कारण भनेको लगानीकर्तालाई बोनस सेयरमार्फत प्रोत्साहन गर्नु नै रहेको उनले बताए । यता, लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल पनि  बोनस सेयरलाई प्रोत्साहन गर्नकै लागि केन्द्रीय बैंकले नगद लाभांशमा अंकुश लगाएको बताउँछन् ।

राष्ट्र बैंकको नीतिले लघुवित्त संस्थाहरुलाई थप मजबुत बनाउने उनको भनाइ छ । बोनस वितरण गर्दा एकातिर कम्पनीको पुँजी वृद्धि हुनेछ भने अर्कोतिर सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्नेछ । लगानीकर्ता पनि नगद भन्दा बोनस सेयर दिने कम्पनीहरुतर्फ आकर्षित हुने गर्छन् । यता, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बोनसलाई प्रोत्साहन नीतिले अन्ततः लगानीकर्तालाई नै फाइदा पुग्ने बताउँछिन् ।

उनले भनिन्, ‘लगानीकर्ता नगद लाभांश भन्दा बोनस सेयर आकर्षित हुने भएकाले केन्द्रीय बैंकको नीतिले फाइदा हुन्छ ।’ तथापि, विगतका वर्षहरुको लाभांश प्रवृत्ति हेर्ने हो भने पनि ३०% भन्दा बढी नगद लाभांश दिने लघुवित्त कम्पनीहरु ज्यादै न्यून मात्र रहेका छन् । संघका अध्यक्ष लम्साल पनि राष्ट्र बैंकले लिएको नीतिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्ततः लघुवित्त कम्पनी र यसका लगानीकर्तालाई नै फाइदा पुग्ने बताउँछन् ।

केही समय पहिले केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत लघुवित्तको लाभांश वितरणमा नयाँ प्रावधान लागू गरेको थियो । जसअनुसार वार्षिक २०% भन्दा बढी लाभांश (नगद वा बोनस सेयर) प्रस्ताव गर्ने संस्थाले ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा पनि पैसा राख्नुपर्ने भनिएको थियो । यो पनि लघुवित्त कम्पनीहरुको लागि सकारात्मक भएको उनको भनाइ छ । लघुवित्त कम्पनीहरु पछिल्लो समय नाफामुखी मात्र बनेका छन् भन्ने आरोप लागेको अवस्थामा यसले कम्पनीहरुलाई सामाजिक उत्तरदायित्वतर्फ लाग्न टेवा पुग्ने जानकारहरुको भनाइ छ ।

तथापि, २०% सम्म लाभांश वितरण गर्ने कम्पनीका लागि भने कोषमा रकम छुट्याउनुपर्ने बाध्यता छैन । त्यसो त गत आर्थिक वर्षको नाफाबाट ४ लघुवित्त कम्पनीले अहिले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्ने कम्पनीहरुले नगद लाभांश भन्दा बोनस सेयरलाई प्राथमिकतामा राखेका छन् ।

यसबाहेक १५% भन्दा बढी ब्याज लिन नपाउने व्यवस्थाले पनि अहिलेको अवस्थामा खासै फरक नपर्ने उनीहरुको भनाइ छ । किने अधिक तरलताका कारण ब्याजदर घट्दोक्रममा छ । निक्षेपमा पनि ब्याजदर घट्ने भएकाले अहिलेको अवस्थामा १५% सम्म ब्याज भनेको निकै राम्रो हो भन्ने लघुवित्तका ज्ञाताहरुको तर्क छ । 

 

Post Your Comment