Market Closed

विश्वका प्रख्यात भ्यालू इन्भेस्टर्स : उनीहरुबाट कसरी सिक्ने ?

10 Oct,2020
  • value_investing_10_10_2020_8_48_51.png
नेपाली पैसा 
 
काठमाडौं : संसारमा धेरै सफल लगानीकर्ताहरु छन् । उनीहरुसँग दशकौं लामो अनुभव पनि छ । उतारचढावका इतिहासहरु रहेका हुन्छ । कतिपयले लगानीका आफ्नै सिद्धान्त प्रतिपादन गरेका छन् भने केहीले आफ्ना अग्रजलाई मेन्टर मानेर सफल भएका देखिन्छन् । हो, तपाईं पनि सेयर बजारमा लगानी गर्नु हुन्छ वा गरिरहनु भएको छ भने ती सफल लगानीकर्ताका बारेमा जान्न सके निकै राम्रो हुन्छ । उनीहरुले कसरी सफलता प्राप्त गरे भन्ने थाहा पाएर सोही मन्त्रलाई अनुसरण गर्न पनि सकिन्छ ।

यसपटक हामी लगानीमा सफल केही अनुहारहरुका बारेमा केही जानकारीहरु पस्किंदैछौं । तीमध्ये कुनैलाई तपाईंले पनि अनुसरण गरिरहेको हुन पनि सक्छ । त्यसो त संसारका विख्यात लगानीकर्ता वारेन बफेटले पनि  बेन्जामिन ग्राहमलाई गुरु मानेर उनकै लगानीमन्त्र प्रयोग गरेका थिए ।

तर, पछि उनले आफ्नै लगानी मोडेल पनि बनाए । र, यसैले उनलाई संसारभर प्रख्यात पनि बनायो । तपाईं पनि संसारका केही नाम चलेका लगानीकर्तालाई गुरु मान्न सक्नु हुन्छ । वा, उनीहरुका केही पद चिन्हहरुलाई अनुसरण गर्न सक्नुहुन्छ । सफल लगानीकर्ताहरु, जसले, कसरी लगानी गरे र अन्तिममा कसरी बाजी मारे भन्ने पनि थाहा पाउन सक्नुहुनेछ ।  
 
 

 
 वारेन बफेट
 
बर्कशायर हाथवे (२०० अर्ब डलर)
 
वारेन बफेट भ्यालू इन्भेष्टर्स हुन् । उनी बेन्जामिन ग्राहमलाई गुरु मान्छन् । सुरुमा उनी परिमाणात्मक लगानीकर्ता थिए । पछि बफेटले यसलाई एक कदम अगाडि बढाए अनि गुणात्मक ढाँचा सिर्जना गरे । बफेटको लगानी रणनीति भनेकै सस्तोमा सेयर किन्ने । लामो समय होल्ड गर्ने अनि, त्यसमा पर्याप्त लाभ लिएपछि बिक्री गर्ने । त्यतिमात्र होइन, कुनै पनि कम्पनीमा लगानी गर्नुअघि उनी त्यसको राम्रैसँग अपरेसन गर्छन । वा कम्पनीको भित्रभित्र पसेर चिरफार गर्छन् ।

सकेसम्मका तथ्यांकहरु बटुल्छन् । अनि, वास्तविक तथ्यांकहरु पाइएपछि तत्कालै लगानी गर्ने वा नगर्ने निर्णय गरिहाल्छन् । लगानी गरिसकेपछि उनी पछि फर्केर हेर्दैनन् । यसरी लगानी गर्दा त्यसबाट पछुताउन परेका विरलैमात्र उदाहरण छन्, उनीसँग । यदि, तपाईं पनि भ्यालु इन्भेष्टर्स हुनुहुन्छ, लामो  समयसम्म होल्ड गर्न सक्ने साहस र धैर्यता छ भने बफेटलाई गुरु मान्न सक्नु हुनेछ । उनकै मन्त्र फलो गरेर अघि बढ्न सक्नुहुनेछ । 
 

 
 चार्ली मंगर
 
चार्ली मंगर वारेन बफेटका पार्टनर पनि हुन् । यदि मंगर नभएको भए बफेट आजको अवस्थामा कहिल्यै पनि आइपुग्दैनथे होला । कस्ता कम्पनीको सेयर कसरी वा कुन मूल्यमा खरिद गर्ने भन्ने निर्णय गर्न बफेटलाई मंगरले राम्रै सहयोग गर्ने गरेका थिए । कतिपय भनाईहरु यस्ता पनि छन् कि मंगरले बफेटलाई तथाकथित राम्रा कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताबाट माथि उठाएका हुन् ।
 
मंगर बर्कशायर हाथवेका उपाध्यक्ष हुन् । उनले डेली जर्नलको पोर्टफोलियोको बारेमा केही महत्वपूर्ण निर्णय लिने गर्छन, जहाँ उनले अध्यक्षता जनाएका छन् । डेली जर्नलमा केवल ४ लगानी रहेका छन् । जसमा बैंक अफ अमेरिका, वेल्स फार्गो, यूएस बानकर्प र पोश्को रहेका छन् । यहाँ पनि गुणात्मक लगानीलाई ध्यान दिइएको देखिन्छ । 
 

 
बिल अकम्यान
 
पर्सिङ स्क्वायर क्यापिटल म्यानेजमेनट (७ अर्ब डलर)
 
बिल अक्म्यान फरक खालका भ्यालू इन्भेस्टर्स हुन् । उनले आफूले आफैंलाई एक सक्रिय लगानीकर्ताका रुपमा लिएका छन् । उनी सधैंजसो समस्यामा परेका कम्पनीहरुमा लगानी गर्छन् । त्यसको व्यवस्थापन आफ्नो हातमा लिन्छन् वा  त्यसलाई सही ट्रयाकमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । समस्यामा परेका कम्पनीहरु खरिद गरेर त्यसको व्यवस्थापकीय तौरतरिकामा आमूल परिवर्तन ल्याउन उनले भूमिका निर्वाह गर्दै आएका छन् । उनले बफेट र मंगरको भन्दा फरक लगानी रणनीति  अवलम्बन गर्ने बताइन्छ ।

सामान्यतयः पछिल्ला समयहरुमा बफेट र मंगरले लगानीका लागि राम्रोसँग सञ्चालन भइरहेका कम्पनीहरु छान्ने गर्छन् । कुनै हस्तक्षेप बिना व्यवस्थापन चल्न दिने काम गर्छन् । तर बिल अक्म्यानले भने कम्पनीहरुमा अचम्मको बाजी लगाउने विषयमा प्रख्याती कमाएका छन् । जुन ओरालो झर्छ भन्ने विषयमा उनी विश्वास गर्छन् । यसलाई सर्ट सेलिङ र सर्टिङ भनिन्छ । मुख्यतयः उनको पोर्टफोलियोमा ७ कम्पनीहरु रहेका छन् र शीर्ष ५ मा ८३ प्रतिशत हिस्सा लगानी छ ।
 


डेभिड इनहर्न
 
ग्रिनलाइट क्यापिटल (९२ करोड २० लाख डलर)
 
डेभिड इनहर्न पनि केही हदसम्म बिल अकम्यान जस्तै हुन् । उनी सर्टिङ गर्न मन पराउछन् । केहीमाथि विभिन्न आरोपहरु लाग्ने गरेको छ । तर ती आरोप प्रत्यारोपमा उनी मनोरन्जन लिन्छन् । लगानी तथा बजारका आधारभूत नियमहरुलाई तोडेको आरोपहरु उनीमाथि लाग्ने गर्छ । 
 
डेभिड इनहर्नले लेहम्यान ब्रदर्शलाई २००७ मा सर्टेड गरेका थिए । उनले कम्पनीको समस्यामाथि औंला तेर्साए । जसका कारण १ वर्षपछि उनीहरु ओरालो लागे । सेयर भाउ घट्यो । उनले अहिले टेस्ला र ट्वीटरलाई शंकास्पद व्यवस्थापनको अभ्यासतर्फ इंगित गरेका छन् ।
 
उनले ‘फुलिङ सम अफ द पिपुल अल अफ द टाइम अबाउट एलाइड क्यापिटल’ नामक पुस्तक लेखेका छन् । उनले सर्टेड गरेको यो अर्को केश हो । उनले हाल २३ फरक खालका कम्पनीहरुमा लगानी गरेका छन् । उनको शीर्ष ५ मा रहेका कम्पनीमा ६९ प्रतिशत हिस्सा रहेको छ । गुणात्मक लगानीकर्ताका रुपमा उनले छबि बनाएका छन् 
 

 
मोनिस पबराई
 
पर्वल इन्भेस्टिङ फन्ड्स (१४ करोड ८० लाख डलर)
 
 भारतीय मुलका अमेरिकी नागरिक मोनिस पबारईले जब उनको व्यवसाय बिक्री गरे र फन्ड मेनेजर बन्ने घोषणा गरे । उनका साथीहरुले त्यतिबेला निधार खुम्च्याए । तर हाल उनी विश्वकै उत्कृष्ट लगानीकर्ताको सूचीमा गनिन थालेका छन् । केही मानिसले उनलाई वारेन बफेटसँग समेत तुलना गर्न थालिसकेका छन् ।क्लासिक भ्यालू प्लेमा जोड दिए, जहाँ उनले कम्पनीहरुको पहिचाान गरे ।

उनले निःशुल्क लट्री टिकट मन पराउन थाले, जहाँ माथि जाने सम्भावना उच्च हुन्छ । तर यस्तोमा पैसा गुम्न सक्ने सम्भावना भने ज्यादै कम रहन्छ । आफ्नो पुस्तक ‘द धन्धो इनभेस्टर’ मा लगानी रणनीतिका बारेमा लेखेका छन् । उनको फन्डमा हाल ३ वटा लगानी रहेका छन्, जसमा माइक्रोन, सेरिटेज ग्रोथ प्रपर्टिज र फियट क्रिस्लर रहेका छन् । 
 


ली लु
 
हिमालय क्यापिटल म्यानेजमेन्ट (१ अर्ब डलर)
 
ली लु ती चिनियाँमध्ये एक हुन्, जसले तियानमियान स्क्वायरमा १९८९ मा विरोध प्रदर्शन प्रयोग गरेका थिए । त्यसपछि उनी चीनबाट भाग्नु परेको थियो । उनले कोलम्बिया युनिभर्सिटीमा छात्रवृत्ति प्राप्त गरेका थिए । जहाँबाट वारेन बफेटले बेन्जामिन ग्राहमबाट भ्यालू इन्भेस्टिङ सिकेका थिए । ली लुले छात्रवृत्तिका लागि प्राप्त पैसा लगानी गरेर व्यापार सुरु गरेका थिए । पछि यसलाई उनले लाखौ डलर बनाएको चर्चित लगानीकर्ता चार्लि मंगरले बताएका छन् ।

मंगरले उनको लगानी गुरुको भूमिका निभाए । त्यति मात्र होइन, मंगरले बर्कशायर हाथवेको वार्षिक साधारण सभामा ली लुको क्षमताका बारेमा चर्चा गर्न समेत हिच्किचाएनन् । केही मानिसले वारेन बफेट तथा मंगरपछि ली लीउ बर्कशायरको हाथवेको लगानी व्यवस्थापन लिन सक्छन् कि सक्दैनन् भन्ने चर्चा समेत गर्न थाले । ली लीउको फन्डमा ४ वटामात्रै कम्पनीका लगानी रहेका छन् । जसमा माइक्रोन टेक्नोलोजी, बैंक अफ अमेरिका, फेसबुक र गुगल (अल्फाबेट) मात्रै छन् ।
 
निचोड : वास्तवमा संसारमा भ्यालू इन्भेष्टर्सहरुले नै वास्तविक सफलता हासिल गरेका छन् । उनीहरुमध्ये धेरैजसोले परिमाणत्मक भन्दा पनि गुणात्मक पक्षलाई नै जोड दिएको पाइन्छ । कतिपय सफल लगानीकर्ताको कुल पोर्टफोलियोको हिस्सा करिब आधा दर्जन कम्पनीमा रहेको देखिन्छ । यसबाट हामीले के बुझ्न सकिन्छ भने, कुनै पनि कम्पनीको वास्तविक पहिचान गर्ने ।

त्यको लामो रेस वा दीर्घकालीन सम्भावना पहिल्याउने । यदि, व्यवस्थापन उचित ट्रयाकमा छैन भने सही मार्गदर्शन गर्नेसम्मको तहमा पुग्ने । राम्रोसँग चलेको व्यवस्थापनमाथि कुनै पनि हस्तक्षेप नगर्ने । पारदर्शीता अपनाउने । सेयरहोल्डरहरुलाई  पर्याप्त लाभांश बाँड्न सक्ने अवस्थामा कम्पनी पुर्याउने । निश्चित सिद्धान्तलाई अनुसरण गर्ने । संसारका प्रसिद्ध लगानीकर्ताको आधारभूत सिद्धान्त यस्तै रहेको पाइन्छ । 
 
एजेन्सीहरुको सहयोगमा 
 

Post Your Comment