Market Closed

अमेजनले भारतमा पनि आफ्नो वर्चस्व कायम गर्ने तयारी गर्दै

29 Oct,2020
  • amaind_10_29_2020_7_26_47.jpg
नेपाली पैसा
 
काठमाडौैं : विश्वकै धनी जेफ बेजोसको कम्पनी अमेजनको भारतमा उपस्थिति हाल न्यून रहेको छ । हाल अमेजनको कुल व्यापारको सामान्य हिस्सा मात्र भारतले ओगटेको छ । तर टेक लगानीकर्ता जीन मन्स्टरका अनुसार आगामी वर्षहरुमा भारत अमेजनको व्यापार वृद्धि गराउने महत्वपूर्ण देश बन्ने भएको छ । मन्स्टरका अनुसार आगामी ५ वर्षसम्म अमेजनको कुल व्यापार वृद्धिको १५% देखि २०% हिस्सा भारत एउटै देशले ओगट्ने देखिएको छ ।
 
अमेजनले गत आइतबार मात्रै भारतका दुई मुख्य रिटेलरहरु, फ्यूचर रिटेल र रिलायन्स इन्डस्ट्रिज बीचको सम्झौता रोक्न कानुनी लडाई जितेको छ । फ्यूचर ग्रुपको सहायक कम्पनी फ्यूचर रिटेलले अगस्ट महिनामा आफ्नो व्यवसाय ३ अर्ब ३८ करोड डलरमा भारतकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको रिलायन्सलाई बेच्ने घोषणा गरेको थियो । तर आफूसँग गरेको छुट्टै सम्झौता भंग गरेको भन्दै अमेजनले फ्यूचर रिटेल माथि मुद्दा दायर गरेको थियो ।
 
हाल भारतको इ कमर्स क्षेत्रमा वालमार्टको स्वामित्वमा रहेको फ्लिपकार्ट र अमेजनको दबदबा रहेको छ । तर मुकेश अम्बानीको रिलायन्स पनि यस क्षेत्रमा निकै द्रुत गतिमा अघि बढिरहेको छ । ठूलो जनसंख्या भएको भारतले इ कमर्स व्यवसायलाई राम्रो अवसर दिएको छ । त्यसैले अमेजन पनि भारतमा आफ्नो उपस्थिति झन बढाउन लागिपरिरहेको छ ।
 
अमेजनले भारतमा मात्र ६ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ । जसमध्ये १ अर्ब डलर भारतका साना व्यावसायलाई सहयोग गर्ने प्रतिज्ञा गरेको छ । अमेजनले सन् २०२५ सम्म झण्डै १० अर्ब डलर बराबरको भारतमा निर्मित सामानहरु विश्व बजारमा बिक्री गर्ने आशा गरेको छ । तर अमेजनलाई भारतमा विभिन्न कानुनी अड्चन आउन सक्नुका साथै भारतीयको विश्वास जित्न कठिन हुन सक्ने पनि आँकलन गरिएको छ ।
 
एजेन्सीहरुको सहयोगमा 
 

Post Your Comment