Market Closed

आज दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा गरिंदै

30 Oct,2020
  • dashain_10_30_2020_11_18_15.jpg
नेपाली पैसा
 
काठमाडौं : यस वर्षको दशैको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा हो । आज दशैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदैछ । दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी लगायतका तीर्थस्थलमा लगेर विसर्जन गरिने प्रचलन छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।
 
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आज साँझ महालक्ष्मीको पूजाराधना गरिन्छ ।

राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । 
 

Post Your Comment