नेपाली पैसा
काठमाडौं : विख्यात लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कसायर हाथवेले आफ्नै सेयर पुनः खरिद (बाइ ब्याक) गरेको छ । कारोना भाइरसको महामारीपछि बर्कसायरको सञ्चालन आम्दानीका साथै सेयर भाउमा पनि गिरावट आएका कारण सर्वसाधारण लगानीकर्ताका आत्मबल उकास्न कम्पनीले आफ्नै सेयर पुनः खरिद गर्ने क्रम बढाएको हो ।
तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बफेटको कम्पनीले ९ अर्ब डलर बराबरको सेयर पुनः खरिद गरेको छ । जुन दोस्रो त्रैमासमा ५.१ अर्ब डलर रहेको थियो । सन् २०२० मा मात्रै हालसम्म बर्कसायरले १५.७ अर्ब डलर बराबरको सेयर पुनः खरिद गरिसकेको छ ।
तेस्रो त्रैमासमा बर्कसायरले २.५ अर्ब डलर बराबरको ‘क्लास ए’ र ६.७ अर्ब डलर बराबरको ‘क्लास बी’ सेयर खरिद गरेको छ । हाल बर्कसायरको सञ्चालन आम्दानी ५.४७८ अर्ब डलर रहेको छ । जुन गत वर्षको तुलनामा ३०% भन्दा बढीले गिरावट आएको हो । यद्दपि, यसको खुद आम्दानी भने वृद्धि भएको छ ।
बर्कसायरको मुख्य होल्डिङ रहेको कम्पनी ‘एप्पल’ मा रहेको लगानी ८२% ले वृद्धि भएपछि खुद आम्दानी बढेको हो ।बर्कसायरको प्रमुख लगानी रहेको कम्पनी ‘एप्पल’ को सेयर भाउ तेस्रो त्रैमासमा २६% भन्दा बढीले उकालो लागेको थियो । यस्तै, अर्को मख्य लगानी रहेको कम्पनी ‘कोकाकोला’ को भाउ पनि १०.५% ले बढेको थियो ।
तर बफेटले लगानीको प्रतिफल प्रयोगमा आइनसकेका कारण खुद आम्दानीमा धेरै ध्यान नदिन लगानीकर्तालाई भनेका छन् । यस वर्षको सुरुवाततिर बफेटले आफ्नो वार्षिक पत्रमा आफू स्वयं र बर्कसायरका उपाध्यक्ष चार्ली मंगर मिलेर सेयर कहिले पुनः खरिद गर्ने भन्ने निर्णय गर्ने बताएका थिए ।
एजेन्सीहरुको सहयोगमा