Market Closed

औषधि व्यापारमा पनि छिर्यो अमेजन, पुराना कम्पनीलाई थपियो चुनौती

19 Nov,2020
  • amazon-phar-amz_11_19_2020_11_38_45.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्व धनाढ्य जेफ बेजोसको कम्पनी ‘अमेजन’ ले औषधि व्यवसाय (फार्मेसी) मा पनि हात हालेको छ । मंगलबार ‘अमेजन फार्मेसी’ को औपचारिक सुरुवात गरेसँगै अमेजनले अब डिजिटल माध्यमबाट औषधि बिक्री थालेको हो । अमेजनले अब अमेरिकी ग्राहकहरुलाई चिकित्सकको सुझाव अनुसारका औषधिहरु अनलाइनबाटै बिक्री गर्नेछ । अमेजनका अनुसार ‘प्राइम मेम्बर’ हरुलाई औषधि खरिदमा विशेष छुट दिइनेछ ।

‘अमेजन प्राइम’ का सदस्यहरुलाई २ दिन भित्र औषधि घरमै पुर्याइदिनेछ । औषधिको ब्राण्डका आधारमा छुट पनि दिइने अमेजनले जानकारी गराएको छ । अमेजनका अनुसार ग्राहकहरुले ‘फार्मेसी प्रोफाइल’ मा आफ्नो इन्सुरेन्स जानकारी प्रविस्ट गरी भुक्तानी माध्यम छनोट गर्न सक्नेछन् । ग्राहकले अमेजनको मुख्य वेबसाइटबाटै औषधि खरिद गर्न सक्नेछन् । 
 
प्राइम मेम्बरले इन्सुरेन्स बिना भने ‘जेनेरिक ड्रग्स’ मा ८०% र ब्रण्डको नामका औषधिहरुमा ४०% सम्म छुट पाउनेछन् । अमेजनले इन्सुरेन्समार्फत भुक्तानी गर्दा वा इन्सुरेन्स बिना उपलव्ध छुटका आधारमा औषधि खरिद गर्दा कुन सस्तो पर्छ भन्ने तुलना गर्ने सुविधासमेत उपलव्ध गराएको छ । चिकित्सकको सुझाव सीधै अमेजन फार्मेसीमा पठाउन पनि सकिनेछ ।
 
अमेजनले सन् २०१८ मा घरघर औषधि पुर्याउने स्टार्टअप कम्पनी ‘पिलप्याक’ लाई एक्वायर गरेको थियो । सोही कम्पनीलाई जग बनाएर अमेजनले अहिले ‘अमेजन फार्मेसी’ सञ्चालनमा ल्याएको हो । हाल अमेरिकी औषधि बजार ३ खर्ब डलर भन्दा बढीको छ । यसैमा प्रवेशका लागि अमेजनले डिजिटल फार्मेसीको सुरुवात गरेको हो । अमेजनको आगमनपछि पुरानो ढंगबाट चलिरहेका फार्मेसी स्टोरहरुलाई ठूलो चुनौती देखापरेको विश्लेषण गरिएको छ ।
 
अमेजनले फार्मेसी व्यापार सञ्चालनमा ल्याएपछि मंगलबार अमेरिकी सेयर बजारमा फार्मेसी कम्पनीको सेयर भाउमा ठूलो गिरावट आएको छ । ‘सीभीएस’ को सेयर भाउ ८.६% ले घटेको छ । यस्तै, वालग्रीन बुट्स अलायन्सको सेयर भाउ ९.६%, राइट एडको १६.२% र गुडआरएक्सको २२.५% ले घटेको छ । अमेजनको सेयर भाउ भने थोरै बढेर बन्द भएको थियो ।
 

Post Your Comment