Market Closed

अर्बपतिहरुको लगानी अब औषधि कम्पनीमा, बफेटले किने फाइजरसहित ४ कम्पनीको ५.७ अर्ब डलरको सेयर

20 Nov,2020
  • buffet_11_20_2020_12_12_34.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्व धनाढ्यहरु धमाधम औषधि व्यापारमा हात हाल्न थालेका छन् । कोभिड महामारीपछि अर्बपतिहरुको लगानी औषधि व्यापारतर्फ मोडिन थालेको हो । मंगलबार मात्र विश्वकै सर्वाधिक धनी जेफ बेजोसको कम्पनी आमेजनले डिजिटल फार्मेसीको सुरुवात गरेको थियो । त्यसलगत्तै, विख्यात लगानीकर्ता वारेन बफेटले पनि तेस्रो त्रैमासमा फार्मेसी कम्पनीहरुको अर्बौं डलर बराबरको सेयरमा लगानी गरेको सार्वजनिक भएको छ ।
 
अर्बपति लगानीकर्ता बफेटको व्यवस्थापनमा सञ्चालित बर्कसायर हाथवेले सन् २०२० को तेस्रो त्रैमासमा औषधि उत्पादक कम्पनीहरुमा ५.७ अर्ब डलर लगानी गरेको छ । कोभिड १९ महामारी रोकथामका लागि औषधि उत्पादक कम्पनीहरु अहिले केन्द्रमा रहेका छन् । जुलाईदेखि सेप्टेम्बरको बीचमा बर्कसायर हाथवेले औषधि उत्पादन गर्ने कम्पनीहरु ‘एबभी’, ‘ब्रिस्टल मेयर्स स्क्वीब’, ‘मेर्क’ र ‘फाइजर’ का सेयरहरु ठूलो संख्यामा खरिद गरेको छ । 
 
कोभिड महामारीले बफेटको इन्भेष्टमेन्ट कम्पनीलाई पनि पछिल्लो समय चुनौती थपिएको छ । कोभिडका कारण बर्कसायरको मुख्य लगानी रहेको अमेरिकी एयसलाइन्स इन्डष्ट्रीलाई ठूलो असर परेको छ । सन् २०२० मा बर्कसायर हाथवेका सेयरहरु ३.७% ले मात्र बढेका छन् । तर सोही समयमा अमेरिकाको ‘एस एन्ड पी ५००’ सूचक भने १२% ले बढेको छ ।
 
बफेटको लगानीले औषधि उत्पादन तथा व्यापार क्षेत्रमा अर्को तरंङ ल्याउने अनुमान गरिएको छ । बफेटले लगानी गरेको फाइजरले हालै मात्र आफूले निर्माण गर्दै गरेको कोभिड भ्याक्सिन ९०% प्रभावकारी भएको दाबी गरेको थियो । जसका कारण विश्व सेयर बजारले नै सकारात्मक गति लिन थालेको छ । तर बफेटले औषधि उत्पादक कम्पनीहरुमा गरेको लगानीमध्ये फाइजरमा सबैभन्दा सानो हिस्सा रहेको छ । 
 
बफेटको बर्कसायर हाथवेले १३ करोड ६० लाख डलर बराबरको सेयर मात्र फाइजरमा लगानी गरेको छ । एबभी र मेर्क प्रत्येकमा १.९ अर्ब डलर बराबरको सेयर लगानी रहेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा ब्रिस्टल मेयर्स स्क्वीबमा गरेको लगानी १.८ अर्ब डलर बराबर रहेको छ । बर्कसायर हाथवेको पोर्टफोलियोमा रहेका अन्य आषधि उत्पादक कम्पनीहरुमा ‘बायोजेन’, ‘जोनसन एन्ड जोनसन’ र ‘टेभा फर्मास्युटिकल्स’ छन् । 
 
 

Post Your Comment