Market Closed

राजस्व वृद्धिका लागि करका दायरा विस्तार र चुहावट नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल

23 Nov,2020
  • Speech_in_Inaguration_11_23_2020_8_55_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र चुहावट नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन् ।

कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता  परिपालनाका विधिलाई कर्डाइका साथ लागू गर्न पनि अर्थमन्त्रीले निर्देशन दिए । अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए ।

यस्तै, करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन, करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग तथा मातहतका सबै राजस्व कार्यालयलाई अर्थमन्त्रीले निर्देशन दिए । करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुत भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने भएकाले कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे । 


 
अर्थमन्त्री पौडेलले नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए । लक डाउन र निषेधाज्ञा लगायतका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनका बावजुत पनि आर्थिक वर्ष २०७६–७७ मा राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुनेगरी कर सहभागिता जनाउने सबै करदातालाई धन्यवाद दिए ।
 
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजना प्रभावकारी कार्यान्वयनमा योगदान हुने विश्वास पनि व्यक्त गरे । 
 
 

Post Your Comment