Market Closed

महामारीका कारण अन्तराष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी

17 Jan,2021
  • migrations_1_17_2021_11_53_26.jpg
संयुक्त राष्ट्र संघ : कोरोना भाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ । सन् २०१९ र २०२० को बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेसिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्यांकमा उल्लेख छ ।

‘अन्तराष्ट्रिय आप्रबासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी आप्रबासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कुल ५ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ । 
 
यसपछि जर्मनीमा १ करोड ६० लाख, साउदी अरबमा १ करोड ३० लाख, रूसमा १ करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन् । सन् २०२० मा आफ्नो देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय नागरिक रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०२० सम्ममा १ करोड ८० लाख भारतीय नागरिकले काम वा बसाई सराईका कारण स्वदेश छाडेको तथ्यांकमा उल्लेख छ । 
 
यसबाहेक धेरै आप्रबासनका लागि स्वदेश छाड्ने मुलुकहरूको सूचीमा अग्रपंक्तिमा भारतपछि मेक्सिको, रूस, चीन र सिरिया रहेका छन् । राष्ट्रसंघीय प्रतिवेदन अनुसार मेक्सिको र रूसबाट विदेशमा काम, पढाई वा बसाइ सराई गर्दै आएका नागरिकको संख्या १ करोड ११ लाख रहेको छ भने चीनको १ करोड र सिरियाको ८० लाख रहेका छन् । 
 
सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तराष्ट्रिय आप्रबासीहरू यूरोपमा रहेका छन् । यूरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रबासीको संख्या ७० प्रतिशत रहेको छ । 
 
रासस–एएफपी
 

Post Your Comment