Market Closed

सेयर साक्षरता : के हो स्टक मार्केट, कसरी चल्छ बजार ?

20 Jan,2021
  • bullsss_1_20_2021_7_29_32.jpg
समिर गौतम
 
काठमाडौं : नेपालमा सेयर बजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दो छ । प्राथमिक र दोस्रो बजार दुवैमा रेकर्ड ब्रेकहरु भइरहेका छन् । प्राथमिक बजार (आइपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च भएको छ । जतिजति आइपीओ आउँदै जन्छ उति नै आवेदकको संख्याले रेकर्ड ब्रेक गर्दै गएको छ ।

यसअघि चन्द्रागिरी हिल्सको आइपीओमा परेको आवेदनले रेकर्ड ब्रेक गरेको थियो । तर त्यसको एक सातापछि नै नयाँ रकर्ड बन्दा सेयर बजारमा लगानीकर्ताको उत्साह कतिसम्म छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । साथै, डिम्याट खाता खोल्ने क्रम पनि दैनिक हजारौंको संख्यामा बढिरहेको छ । यता, दोस्रो बजार पनि हाल उच्च विन्दुमा रहेको छ । दिनहुँ सेयर बजारले नयाँ उच्च विन्दु कायम गर्दै गएको छ ।

तर अझै पनि धेरैलाई सेयर बजार सम्बन्धी सामान्य ज्ञानको समेत कमि रहेको देखिन्छ । कतिपयलाई त सेयर के हो ? कसरी कारोबार हुन्छ ? भन्ने लगायतका सामान्य ज्ञानको समेत कमि छ । यही क्रममा बजारका अत्यन्तै नयाँ र सामान्य विषयमा समेत जानकारी नभएका सर्वसाधारण लगानीकर्तालाई सहज होस् भनेर यहाँ सेयर र सेयर अर्थात बजार के हो भनेर सामान्य चर्चा गरिएको छ ।
 
सेयर बजार के हो ?
 
सामान्य अर्थमा भन्नुपर्दा, सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ पब्लिक कम्पनीहरुको सेयर जारी हुन्छ अनि किनबेच हुन्छ । तर सेयर बजार भन्दा अघि सेयर के हो भनेर बुझ्न जरुरी छ । जस्तो, कुनै पनि व्यापार सुरु गर्न हामीलाई पुँजी वा भनौं पैसाको आवश्यकता पर्छ । तर आवश्यक सबै पुँजी हामीसँग नहुन सक्छ । त्यसैले, ठूलो पुँजी जम्मा गर्न सेयर संख्या वा कित्ताका आधारमा विभाजन गरी सानो सानो इकाईमा परिणत गरिन्छ ।

जसलाई हामी सेयर भन्छौं । उक्त सेयरलाई बिक्री गरी व्यापारका लागि आवश्यक पुँजी जम्मा गरिन्छ । त्यसैले सेयर भनेको कुनै पनि कम्पनी वा वित्तीय सम्पतिमा आफ्नो स्वामित्वको इकाई हो भनेर बुझ्नुपर्छ । जस्तो कि मेरो फलानो कम्पनीमा सेयर छ भन्नुको अर्थ हुन्छ, उक्त कम्पनीको केही हिस्सामा मेरो पनि स्वामित्व छ भनिएको हो । 
 
उदाहरणका लागि, कुनै व्यावसायीले १ करोड रुपैयाँ लगानी गरी एक कम्पनी स्थापना गरेको छ । र, उसलाई आफ्नो व्यापार विस्तार गर्न थप ८० लाख रुपैयाँ लगानी आवश्यक परेको छ । तर ऊ आफैंसँग भने लगानी विस्तार गर्ने थप पैसा छैन । तब उसले लगानीका लागि आवश्यक थप ८० लाख रुपैयाँ सर्वसाधारणबाट उठाउने निधो गर्छ । अनि, फेस भ्यालु सामान्यतयः प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेर ८० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरी ८० लाख रुपैयाँ जुटाउँछ । 
 
फेस भ्यालु भनेको प्रतिकित्ता सेयरको मूल्य हो जुन सेयर जारी गर्नु अघि नै निर्धारण गरिन्छ । नेपालमा यो सामान्यतयः प्रतिकित्ता १०० रुपैयाँ हुने गरेको छ । यहाँ जसजसले उक्त कम्पनीको सेयर किनेका छन् उनीहरु त्यस कम्पनीको सेयरधनीहरु बन्दछन् । सेयरधनी बन्नु भनेको आफू उक्त कम्पनीको हिस्सेदार बन्नु हो ।

साथै उक्त कम्पनीले नाफा गर्यो भने त्यसको पनि हिस्सेदार बन्नु हो । कम्पनीको तर्फबाट हेर्ने हो भने सेयर बेचेको मात्र नभई आफ्नो कम्पनीमा सर्वसाधारणलाई हिस्सेदारी दिएको पनि हो । अब, सर्वसाधारणलाई सेयर बेचिसकेपछि के हुन्छ त ? यसरी पब्लिकमा सेयर जारी गरेको कम्पनी स्टक एक्सचेन्जमा गएर सूचीकृत हुन्छ र त्यसको सेयर किनबेचका लागि दोस्रो बजार खुला गरिन्छ । 
 
स्टक मार्केट र स्टक एक्सचेन्ज
 
सुरुमा भनिए जस्तै स्टक मार्केट अथवा सेयर बजार पब्लिक कम्पनीहरुको सेयर किनबेच गर्ने ठाउँ हो । कतिपयले स्टक मार्केट र स्टक एक्सचेन्ज लाई पर्यायवाची शब्दको रुपमा लिने गरेका छन् । तर स्टक एक्सचेन्ज समग्र स्टक मार्केट भित्रको एउटा हिस्सा मात्र हो । यो सेयर कारोबार गराउने अर्थात बजार सञ्चालक हो । स्टक मार्केटमा एक भन्दा बढी एक्सचेन्जहरु हुन सक्छन् ।

तिनै स्टक एक्सचेन्जमा सूचकृत पब्लिक कम्पनीहरुको सेयर किनबेच हुन्छ । स्टक एक्सचेन्ज, सेयर खरिदकर्ता र बिक्रीकर्तालाई एक ठाउँमा ल्याउने एक माध्यम हो । नेपालमा एउटा मात्र एक्सचेन्ज छ, त्यो हो नेपाल स्टक एक्सचेन्ज अर्थात छोटकरीमा नेप्से । 
 
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा भएको उतारचढावले सेयर बजार घट्यो वा बढ्यो भन्ने संकेत गर्छ । स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरुको सेयर किनबेच नै हुँदैन भन्ने पनि होइन । त्यस्ता कम्पनीहरुको पनि सेयर बिनबेच हुन्छ । जसलाई ओटीसी मार्केट वा ओभर द काउन्टर मार्केट भनिन्छ । तर त्यसले सेयर बजारको घटबढलाई भने असर गर्दैन ।
 
सेयर मार्केटले २ प्रकारले काम गर्छ, वा भनौं २ प्रकारको सेयर मार्केट हुन्छ 
 
१ प्राथमिक बजार (प्राइमरी मार्केट)
२ दोस्रो बजार (सेकेन्डरी मार्केट)
 
प्राइमरी मार्केटमा नयाँ सेयरहरु जारी हुन्छ । यहाँ कम्पनीले लगानीकर्तालाई सेयर बेच्छ । प्राइमरी मार्केटमा बिक्री भएको सेयरबाट प्राप्त पुँजी सीधै कम्पनीलाई जन्छ । माथि प्रस्तुत गरिएको उदाहरणमा सर्वसाधारणलाई जारी गरेको सेयर प्राइमरी मार्केट अथवा प्राथमिक बजार अन्तर्गत पर्छ । जसलाई आइपीओ पनि भनिन्छ । प्राइमरी मार्केटमा ३ प्रकारले सेयर बिक्री गरिन्छ । आइपीओ र एफपीओ, हकप्रद सेयर र प्राइभेट प्लेसमेन्ट । 
 
प्राथमिक बजार (प्राइमरी मार्केट)
 
१. आइपीओ र एफपीओ
 
कुनै पनि कम्पनीले आफ्नो स्थापनापछि पहिलो पटक सर्वसाधारणमा सेयर जारी गर्छ भने त्यसलाई आइपीओ अथवा इनिसियल पब्लिक अफरिङ भनिन्छ । कुनै पनि कम्पनीले आइपीओ जारी गरिसकेपछि त्यो पब्लिक कम्पनीमा परिणत हुन्छ । कुनै कम्पनीले एक पटक आइपीओ जारी गरिसकेको छ, तर पुँजी वृद्धि गर्न त्यस्तै किसिमले पुनः सर्वसाधारणमा सेयर गर्छ भने त्यस्तो सेयरलाई एफपीओ भनिन्छ ।

यस्तो किसिमले सर्वसाधारणमा सेयर बिक्री गर्दा सामान्यतयः आइपीओ जारी गरेको रकममा कम्पनीको हैसियत हेरी प्रिमियम रकम थप गरिन्छ । नेपालमा यससम्बन्धी विभिन्न नियमहरु बनाइएका छन् । अहिले नेपालमा बुक बिल्डिङ विधि पनि सुरु हुँदैछ । 
 
२ हकप्रद सेयर
 
कुनै कम्पनीले तत्काल कायम रहेका सेयरधनीहरुका लागि मात्र सेयर जारी गर्छ भने त्यसलाई हकप्रद सेयर भनिन्छ । यस्तो अवस्थामा कम्पनीले कुनै निश्चित दिनलाई बुक क्लोज मिति घोषणा गर्छ र त्यसदिन भित्र दर्ता भएर कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउँछन् । अर्को अर्थमा भन्नुपर्दा कम्पनीले आफ्ना सेयरधनीलाई थप सेयर किन्नका लागि हक दिएको हो । 
 
मानौं, तपाई कुनै कम्पनीको सेयरधनी हुनुहुन्छ । र उक्त कम्पनीले २००% हकप्रद सेयर जारी गर्नेवाला छ । यस्तो बेलामा तपाईंले उक्त कम्पनीको आफ्नो एक सेयर बराबर २ वटा सेयर खरिद गर्न सक्नुहुनेछ । कुनै पनि कम्पनीको हकप्र्रद सेयर त्यसको बजार भाउ भन्दा सस्तो हुने गरेको छ । नेपालमा यो प्रतिकित्ता १०० रुपैयाँ मै वा फेस भ्यालूकै भाउमा जारी हुन्छ । तर हकप्रद सेयर जारी भएपछि भने उक्त कम्पनीको बजार भाउ समायोजन गरिन्छ ।
 
३. प्राइभेट प्लेसमेन्ट 
 
प्राइभेट प्लेसमेन्टमा सर्वसाधारणलाई होइन कुनै चुनिएका लगानीकर्ताहरुलाई मात्र सेयर बिक्री गरिन्छ । जस्तै, म्युचुअल फन्ड, भेन्चर क्यापिटल, बैंक, इन्सुरेन्स लगायत ।
 
दोस्रो बजार (सेकेन्डरी मार्केट)
 
प्राइमरी मार्केटमा जारी भएको सेयर स्टक एक्सचेन्जमा सूचीकृत हुन्छ । स्टक एक्सचेन्ज सेकेन्डरी मार्केट हो, जहाँ तपाईंले प्राइमरी मार्केटमा खरिद गरेको सेयर बिक्री गर्न सक्नुहुन्छ । जहाँ ब्रोकर मध्यस्तकर्ता वा ब्रोकरको मार्फत सेयर किनबेच गरिन्छ । अनलाइनमार्फत लगानीकर्ता आफैंले सेयर किनबेच गर्न सक्ने भए पनि ब्रोकर कम्पनी मध्यस्तकर्ता हुन्छ । घरजग्गा जस्तो सीधै क्रेता र बिक्रेता लगानीकर्ता भएर कारोबार गर्न पाइदैंन ।

त्यहीँबाट अन्य सूचीकृत कम्पनीको सेयर खरिद पनि गर्न सकिन्छ । प्रइमरी मार्केटमा कम्पनीले सीधैं लगानीकर्तालाई सेयर बिक्री गर्छ भने सेकेन्डरी मार्केटमा ब्रोकरमार्फत लगानीकर्ता–लगानीकर्ताबीच सेयर खरिद बिक्री हुन्छ । कम्पनीसँग कुनै प्रत्यक्ष सरोकार हुँदैन । प्राथमिक अथवा प्राइमरी मार्केटमा जे जसरी सेयर जारी भए पनि यसको कारोबार गर्न भने स्टक एक्सचेन्जमा सूचीकृत हुन जरुरी हुन्छ ।
 
(नोट : सेयर बजारका अत्यन्तै नयाँ लगानीकर्तालाई उपयोगी होस् भनेर यो सामाग्री प्रस्तुत गरिएको हो ।)

Post Your Comment