टीडीएस तिर्दै नेशनल हाइड्रो

11 May,2016
  • nhpc123_5_11_2016_1_07_26.png

वैशाख २८, काठमाडौं (अस) । नेशनल हाइड्रोपावर कम्पनीले अग्रिम कर कट्टी (टीडीएस)बापत भुक्तान गर्न बाँकी रकम चाँडै बुझाउने भएको छ । कर पुनर्मूल्याङ्कन गर्न आन्तरिक राजस्व कार्यालयलाई अनुरोध गरिएको बताउँदै कम्पनीका सञ्चालक प्रकाश रजौरेले त्यसबारेमा निर्णय आएपछि टीडीएस बुझाउने बताए । नेशनलको आर्थिक वर्ष २०६५/६६ देखि २०६८/६९ सम्मको टीडीएस बेरुजु देखिएपछि राजस्वले कम्पनीको कारोबार रोक्का गर्ने चेतावनी दिएको थियो ।

रजौरेका अनुसार यसअघि नै कर पुनर्मूल्याङ्कनका लागि निवेदन दिँदा १ करोड रुपैयाँ धरौटीसमेत राखिसकिएको थियो । त्यस्तै अन्तिम रिपोर्टमा वास्तविक दायित्व उल्लेख भएर आउँदा करीब १ करोड कर दायित्व घट्न सक्ने अनुमान कम्पनीको छ । त्यसो भए २ करोड रुपैयाँ टीडीएस दायित्व घट्ने र बाँकी २ करोड रुपैयाँ किस्ताबन्दीका रूपमा भुक्तानी गर्ने योजना कम्पनीको छ । यता, कम्पनीकै नाममा नबिल बैङ्कबाट लिएको करीब १६ करोड रुपैयाँ कर्जा भुक्तानी भइसकेको रजौरेले बताए ।

रजौरेले सहायक कम्पनी सुनकोशी हाइड्रोले निर्माण गर्ने भनिएको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाका लागि लिएको कर्जा भुक्तानीमा पनि समस्या नरहेको उल्लेख गरे । उनका अनुसार इन्द्रावती जलविद्युत् आयोजनाको निर्माणका लागि नेशनल हाइड्रोपावरको जमानीमा करीब २० करोड रुपैयाँ कर्जा लिइएको थियो । यस आयोजनामा हालसम्म निर्माण भएको पूर्वाधारलगायत गरी ४७ करोड रुपैयाँको सम्पत्ति रहेकाले सो कर्जा भुक्तानीमा पनि समस्या नहुने उनले स्पष्ट पारे ।

‘त्यो आयोजनाको दर्ता खारेज भए पनि सम्पत्ति हाम्रो हो, नयाँ लगानीकर्ता आएमा उसले त्यो सम्पत्तिको मूल्य भुक्तान गर्नुपर्ने हुन्छ, हामी आफैले बनाउने अवसर पाएमा विद्युत् विक्रीबाट हुने आम्दानीले कर्जा चुक्ता गर्दै जान्छौं,’ रजौरेले बताए । हाल नेशनल हाइड्रोको लगानीमा अन्य आयोजना निर्माण गर्ने तयारीसमेत भइरहेको कम्पनीले बताउँदै आएको छ ।