नेसनल हाइड्रोपावरले दोस्रो पटक बोलाएको साधारण सभा भयो सम्पन्न, कम्पनीले अब गति लिने विश्वास

28 Dec,2016
  • nhpcc_12_28_2016_1_20_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावरले दोस्रोपटक बुधबार बोलाएको साधारण सभा सफल भएको छ । साधारण सभामा राखिएका विभिन्न प्रस्ताव पनि पारित भएको छ । यसअघि गएको मंसिर २६ मा बोलाइएको साधारण सभा कोरम नपुगेका कारण स्थगित भएको थियो । त्यसबेला कोरम नपुगेपछि कम्पनीले फेरि बुधबार दोस्रोपटक साधारण सभा बोलाएको हो । 
 
नेसनल हाइड्रोपावरमा पहिलोपटक साधारण सभा सम्पन्न गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधान छ । सोही प्रावधानका कारण कोरम पुगेको थिएन । यसअघि बोलाइएको साधारण सभामा जम्मा १० प्रतिशतमात्र सेयरहोल्डर उपस्थित भएका थिए । दोस्रोपटकको साधारण सभामा भने २५ प्रतिशत सेयर सदस्य उपस्थित भए पनि पुग्ने प्रावधान रहेकाले कम्पनीलाई साधारण सभा गर्न सहज भएको हो । 
 
नेसनल हाइड्रोमा संस्थापक समूहको त्यति बलियो उपस्थिति छैन । अधिकांश सेयर सर्वसाधारणमा छरिएर रहेको छ । लथालिङ अवस्थामा रहेको कम्पनीलाई आमूल सुधार गरी अघि बढ्ने योजना अनुसार चार आर्थिक वर्षको साधारण सभा एकसाथ बोलाइएको हो । दोस्रोपटकको साधारण सभा सफलतापूर्वक सम्पन्न भएकाले अब विस्तारै कम्पनीले गति लिने विश्वास गरिएको छ । कम्पनीले १६, १७, १८ र १९औं वार्षिक साधारण सभा एकसाथ बोलाएको हो ।