इन्भेस्टमेन्टको खुद नाफा दुई अर्ब ५५ करोड, रिजर्भमा १० अर्ब ५५ करोड

07 Aug,2016
  • nib_8_7_2016_12_28_18.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ५५ करोड आठ लाख ८४ हजार रूपैयाँ खुद नाफा गरी वाणिज्य बैंकहरूमध्येमा आफूलाई अब्बल दर्जामा सुरक्षित गरेको छ । 
 
बैंकले आर्थिक वर्ष २०७२–७३ मा यो आकर्षक नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा इन्भेस्टमेन्ट (एनआइबी) ले खुद नाफा ५८ करोड ९० लाख ३२ हजार रूपैयाँ बढाउन सफल भएको हो । 
 
अघिल्ल्लो आवमा बैंकको खुद नाफा एक अर्ब ९६ करोड १८ लाख ५२ हजार रूपैयाँमात्र थियो । एफपीओ सेयर जारी गरेपछि बैंकको वित्तीय सूचकहरू निकै सबल देखिएका छन् । 
 
सात अर्ब २५ करोड ५५ लाख १० हजार रूपैयाँ चुक्ता पुँजी भएको यो बैंकको रिजर्भ कोषमा १० अर्ब ५५ करोड ५८ लाख ९९ हजार रूपैयाँ जम्मा भइसकेको छ । 
 
एनआइबीको रिजर्भले लगानीकर्ता लोभ्याउने देखिन्छ । धेरै चुक्ता पुँजी भएको बैंकमा रिजर्भ अझ बढी हुनु सकारात्मक पक्ष हो । 
 
बैंकले व्यापारको आकारलाई पनि निकै ठूलो र फराकिलो बनाउँदै लगेको देखिन्छ । एक खर्ब आठ अर्ब ६२ करोड ६६ लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गर्न एनआइबी सफल भएको छ । 
एक खर्बभन्दा बढी निक्षेप संकलन गर्दा ८७ अर्ब ९७ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेर आम्दानीका माध्यमहरूलाई पनि सबल बनाइएको छ ।
 
बैंकले ब्याज आम्दानीमात्रै तीन अर्ब ९२ करोड ११ लाख पाँच हजार रूपैयाँ आर्जन गर्न सफल भएको छ । यसैगरी, डलर कारोबारबाट ५३ करोड ३२ लाख ६५ हजार रूपैयाँ आम्दानी गरेको तथ्यांक एनआइबीले पेस गरेको छ । 
 
व्यापारको आकार बढे अनुपात बढे पनि खराब कर्जालाई अत्यन्त न्यून विन्दुमा झार्न सक्नु बैंकको सफलता हो । खराब कर्जा जम्मा ०.६८ प्रतिशतमात्र छ । 
 
बैंकको कोषको लागत २.७६ प्रतिशत, प्रतिसेयर आम्दानी ३५.१६ रूपैयाँ, प्रतिसेयर नेटवर्थ २४५.४९ रूपैयाँ रहेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको चौथौ त्रैमासिक प्रतिवेदन