Market Closed

इतिहासकै ठूलो आइपीओमा कति कित्ताका लागि दिने आवेदन, कस्तो छ कम्पनी ?

14 Jan,2021
  • IPO_ss_1_14_2021_7_17_22.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५% ले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
 
सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।
 
रेटिङ कस्तो ?
 
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्फ्रस्ट्रक्चर बैंकलाई ‘इक्राएनपी आइआर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा इन्फ्रास्ट्रक्चरलाई मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा जनाउँदछ । यस्तै, यस बैंकको आइपीओलाई पनि औसत भन्दा कम आधार जनाउने “इक्रा एनपी आइपीओ ग्रेड ४ प्लस’ रेटिङ दिइएको छ । 
 
कति कित्ता भर्ने आइपीओ ? 
 
पछिल्ला दिनहरुमा आइपीओमा अधिक आकर्षण देखिएको छ । दोस्रो बजार बढ्दै जाँदा प्राथमिक बजार (आइपीओ) मा सोही अनुसार सर्वसाधारण उत्साहित बनेका हुन् । यसबाहेक पछिल्ला आइपीओहरु दोस्रो बजारमा सूचीकृत भएपछि पनि मज्जाले भाउ बढिरहेको छ । सोही कारण पनि धेरैमा आशाको नयाँ सञ्चार देखिएको हो ।

यस कम्पनीको आइपीओमा पनि मोटामोटी १३ लाख जनाले आइपीओ भर्ने अनुमान गर्ने हो भने प्रतिआवेदक करिब ६० कित्ताजति सेयर पर्ने देखिन्छ । यसआधारमा त्यो भन्दा केही बढी आवेदक भए पनि सामान्यतयः ५ हजार वा ५० कित्ताका दरले आवेदन दिएमा सोही अनुपातमा सेयर पर्न सक्ने सम्भावना देखिएको छ । तथापि, यसमा कति आवेदन पर्छ ? अनि आवेदक संख्या कति हुन्छ अहिल्यै अनुमान गरिहाल्नु त्यति उचित भने हुँदैन । 
 
आगामी आर्थिक वर्षदेखि पुँजी बढाउने योजना, यस्तो छ वित्तीय प्रक्षेपण
 
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी आर्थिक वर्षदेखि नै पुँजी वृद्धि गर्दै लैजाने योजना बनाएको छ । बैंकको वित्तीय प्रक्षेपण अनुसार आइपीओ बिक्रीपछि चालु आर्थिक वर्षमा चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । यस्तै, आव २०७८–७९ मा पुँजी बढाएर २१ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रक्षेपण रहेको छ । बैंकले प्रक्षेपण अनुसारको पुँजी पुर्याउन आइपीओ बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा ८% बोनस सेयर वितरण गरिनेछ ।

यस्तै, आव २०७९–८० मा चुक्ता पुँजी २२ अर्ब ९० करोड रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । जसका लागि ६.५०% बोनस सेयर दिने योजना रहेको छ । यता, इन्फ्रस्ट्रक्चर बैंकले खुद नाफा पनि निरन्तर वृद्धि हुँदै जाने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा ७२ करोड ५२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।

आगामी आर्थिक वर्षमा खुद नाफा १ अर्ब ६५ करोड ६७ लाख रुपैयाँ र आव २०७९–८० मा २ अर्ब २ करोड २ लाख रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० सम्ममा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ पनि ११२ रुपैयाँ ८० पैसा हुनेछ । 
 


 
आइपीओबाट संकलन हुने पुँजी लगानी 
 
बैंकले आइपीओबाट प्राप्त पुँजीको मुख्य लगानी कर्जा तथा सापट र उच्च प्रतिफल दिने अन्य लगानी उपकरणमा लगाउने योजना बनाएको छ । आइपीओ बिक्रीबाट प्राप्त हुने ८ अर्ब रुपैयाँमध्ये ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा तथा सापट र ३ अर्ब ६८ करोड रुपैयाँ अन्य लगानी उपकरणमा खर्च हुनेछ ।
 
कम्पनीको स्थापना र उद्देश्य 
 
नेपाल इन्फ्रास्ट्रक्चर बैंक कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७५ जेठ २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । यसले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । बैंकले राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको हैसियतले २०७५ फागुन २२ गतेदेखि बैंकिङ कारोबार सञ्चालन गर्दै आइरहेको छ । यस बैंकका मुख्य उद्देश्यहरु निम्न अनुसार रहेका छन्  । 
 
(क) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने ।
 
(ख) पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने ।
 
(ग) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारका लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने ।
 
(घ) राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने ।
 
(ङ) दीर्घकालिन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी श्रोत परिचालन गर्ने ।
 
(च) राष्ट्र बैंकको स्वीकृती लिई लिजिङ कारोबार गर्ने ।
 
(छ) विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने ।
 
(ज) राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।
 
आधारभूत सेयरधनीहरु 
 
यस बैंकमा सबैभन्दा ठूलो हिस्सा नेपाल सरकार अन्तर्गत अर्थ मन्त्रालयको रहेको छ । अर्थ मन्त्रालयले २ करोड कित्ता सेयर लगानी गरेको छ । यस्तै, ‘क’ वर्गका वाणिज्य बैंकहरुको पनि लगानी रहेको छ । यस्तै, नेपालका ठूला उद्यमी तथा व्यापारिक घरानाहरुले पनि इन्फ्रास्ट्रक्चर बैंकमा लगानी गरेका छन् । 
 
 

Post Your Comment