नेपाल लाइफ एफपीओको फारम ‘सर्टेज’, भन्दै संकलन केन्द्रले आवेदकलाई फिर्ता पठाउन थाले

10 Jan,2017
  • nepal_life_1_10_2017_6_31_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको  एफपीओ आवेदन फारम ‘सर्टेज’ हुन थालेको छ । कम्पनीले तोकेको विभिन्न संकलन केन्द्रमा मंगलबारदेखि नै फारम पाइन छाडेको छ । नेपाल लाइफले आव्हानपत्रमा उल्लेख गरेका कतिपय संकलन केन्द्रले आवेदन फारम नदिएको धेरै लगानीकर्ताले गुनासो गर्न थालेका छन् । विशेषगरी सामाखुशी, गोंगबु, नयाँ बसपार्कलगायत क्षेत्रका संकलन केन्द्रले आवेदन फारम छैन भन्दै आवेदकलाई धमाधम फिर्ता पठाउन थालेका छन् । गोंगबुस्थित सिद्धार्थ बैंकले मंगलबार नै फारम सकिएको जानकारी गराएको छ ।

त्यस्तै, त्यही क्षेत्रको यति डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्सले पनि फारम दिएको छैन । ललितपुर, बानेश्वर, कलंकीलगायतका स्थानमा पनि आवेदन फारम नपाइएको केही लगानीकर्ताले नेपाली पैसामा फोन गरेर जानकारी गराएका छन् । नेपाल लाइफको एफपीओमा सर्वसाधारणको निकै आकर्षण हुने अनुमान छ । मिलेमतोमा केही संकलन केन्द्रले फारम नदिएको आशंका पनि लगानीकर्ताको छ ।  सामाखुशीका लगानीकर्ता विष्णु सुवेदीले मंगलबार सामखुशी, गोंगबु तथा नयाँ बसपार्क क्षेत्र कतै पनि नेपाल लाइफको एफपीओ आवेदन फारम नपाइएको बताए ।

कम्पनीले त्यस क्षेत्रमा संकलन केन्द्र तोकेको सिद्धार्थ बैंक, यति डेभलपेमन्ट बैंक अनि आइसीएफसीलगायतले फारम सकियो भनेर त्यहाँ पुगेकाहरूलाई धमाधम फिर्ता पठाइरहेको छ । ‘यति डेभलपमेन्टेले आठ सयवटा फारम ल्याएको सबै सकियो भन्ने जानकारी दियो, त्यस्तै गोंगबुस्थित् सिद्धार्थ बैंकले पाँच सयवटा फारम भएकोमा सबै सकिएको जानकारी गरायो,’ सुवेदीले भने । उता, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले आवेदन फारमको अभाव नभएको दाबी गरेको छ ।

‘सबै संकलन केन्द्रलाई मागेजति फारम दिएका छौं, अभाव हुने अवस्थै छैन, सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले नेपाली पैसासँग भने । विगतमा पनि धेरै कम्पनीको आइपीओ र एफपीओ खोल्दा आवेदन फारम अभाव हुने समस्या देखिएको थियो । अहिले सर्वसाधारणको आकर्षण रहेको नेपाल लाइफमा पनि फारम नदिएर साना लगानीकर्तालाई एफपीओ आवेदन दिनबाटै बञ्चित गर्न केही संकलन केन्द्रमा मिलेमतोमै फारम लुकाइएको हुन सक्ने आरोपसमेत सर्वसाधारणले लगाउन थालेका छन् । नेपाल लाइफको एफपीओ बुधबारदेखि बिक्री खुला हुँदैछ ।