नेपाल लाइफको एफपीओमा पहिलो दिनमै तीन अर्ब २५ करोडको आवेदन, २१ हजारले भरे सेयर

12 Jan,2017
  • nepal_life_1_12_2017_10_47_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको एफपीओमा पहिलो दिन बुधबारमात्रै तीन अर्ब २५ करोड रूपैयाँभन्दा बढीको आवेदन परेको छ । २१ हजार जनाले बुधबारमात्रै सेयर भरेका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले पहिलो दिनमै सवा तीन अर्ब हाराहारीमा एफपीओमा आवेदन परेको जानकारी दिए । ‘सवा तीन अर्ब हाराहारीमा आवेदन परेको छ । २१ हजार जनाले आवेदन दिएका छन्,’ उनले नेपाली पैसासँग भने । 
 
केही केलेक्सन सेन्टरको जानकारी आउन अझै बाँकी भएको उनले जानकारी दिए । यसआधारमा आवेदन संख्या र रकम अझै केही बढी हुन सक्ने देखिएको छ । बिहीबार पनि बिहानैदेखि बिक्री केन्द्रहरूमा भीड लाग्न थालिसकेको छ । नेपाल लाइफको एफपीओ सर्वसाधारणमा निकै लोकप्रिय बनिरहेको छ ।  यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपछि चुक्ता पुँजी दुई अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रूपैयाँ पुग्नेछ ।

एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने पैसा चुक्ता पुँजीमा जोडिनेछ भने प्रिमियमबाट संकलन भएको रकम रिजर्भ कोषमा जानेछ । एफपीओपछि कम्पनीको रिजर्भ कोषमा ६ अर्ब ६९ करोड ३८ लाख  रूपैयाँ जम्मा हुनेछ । आर्थिक वर्ष २०७३–७४ मा कम्पनीको जीवन बिमा कोषको आकार ४२ अर्ब ३३ करोड रूपैयाँभन्दा बढीको हुने विवरणमा देखाइएको छ । प्रतिसेयर नेटवर्थ पनि ३६९ रुपैयाँ ८६ पैसा पुग्ने कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनीले आर्थिक वर्ष २०७१–७२ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १।३१ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७२–७२ को कमाईबाट लाभांश दिन बाँकी छ । कम्पनीले  ३० लाख ९६ हजार चार सय २० कित्ता एफपीओ प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले बिक्री खुला गरेको हो । एक सय रूपैयाँ अंकित मूल्यमा १३ सय २५ रूपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ बिक्री खुला भएको हो ।