एनएमबी चुक्ता पुँजी आठ अर्ब अभियानमा, एफपीओ एजेन्डा राखेर पुस २४ मा बोलायो एजीएम

14 Dec,2016
  • nmb_pic_12_14_2016_12_29_20.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबी बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउनेक्रममा एफपीओ पनि ल्याउने भएको छ । 
 
बैंकले पुस २४ गते बोलाएको साधारण सभाको एजेन्डामा एफपीओ (फर्दर पब्लिक अफर) जारी गर्ने उल्लेख गरेको छ । बैंकले प्रिमियमा भाउमा एफपीओ ल्याउनेछ । तर एफपीओको मूल्य कति हुने भनेर पछि निर्कोल हुनेछ । 
 
एफपीओ ल्याउन धितोपत्र बोर्डले अनुमति दिनुपर्छ । प्रिमियम भाउलाई अन्तिम स्वीकृति दिने अधिकार पनि बोर्डसँग नै छ । बैंकले समग्र वित्तीय सूचकसहित नेटवर्थको आधारमा पाँच गुणाभन्दा माथि नजाने गरी एफपीओ ल्याउन सक्छ । 
 
नेटवर्थबाहेक अन्य सूचकलाई पनि आधार मानिन्छ । एनएमबी बैंकमा नेदरल्यान्डको एफएमओको पनि लगानी भित्रिएको छ । एफएमओले बैंकको २० प्रतिशत सेयरमा लगानी गरेको छ । 
 
एफएमओले प्रतिकित्ता एक सय ५० रूपैयाँका दरले सेयर किनेको हो । जुन पैसा बैंकको जगेडा कोषमा गएको छ । एनएमबीले अधिकृत पुँजी १० अर्ब पुर्याउने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । 
 
बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिंदैछ । यो प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ । एनएमबीको साधारण सभा पुस २४ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे सुरु हुनेछ । 
 
साधारण सभा प्रयोजनका लागि एनएमबीले पुस ७ देखि पुस २४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने छ । हाल पाँच अर्ब ४३ करोड ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४६ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ७७ रुपैयाँ २९ पैसा छ ।