प्राइमको धमाका, २५ करोड खुद नाफाका साथ दिने भयो २३ प्रतिशत बोनस

26 Oct,2016
  • prime-bank-1_10_26_2016_12_19_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड १० लाख ५८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले गत वर्षभन्दा तीन करोड चार लाख ६० हजार रूपैयाँले नाफा बढाउन सफल भएको हो । गत आर्थिक वर्षको यसैअवधिमा बैंकको खुद नाफा २२ करोड पाँच लाख ९८ हजार रूपैयाँ थियो । 
 
यो तथ्यांकले बैंकको नाफा पहिलो त्रैमासमा सामान्य ढंगले बढेको देखाउँछ । चुक्ता पुँजी बढाउँदै जाँदा खुद नाफाको आकार बढाउन बैंकहरूमाझ यतिबेला चुनौती थपिएको छ । 
 
राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी आठ अर्ब पुर्याउन बोनस, हकप्रदसहितको योजनामा अघि बढेको प्राइमले पहिलो त्रैमासमा ३८ करोडभन्दा बढी ब्याज आम्दानी गर्न सफल भएको छ । गत वर्ष यही बेला बैंकको खुद ब्याज आम्दानी ३० करोड हाराहारीमा मात्र थियो । 
 
चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी तीन अर्ब ७० करोड ५२ लाख ६२ हजार रूपैयाँ रहेको छ । प्राइमको रिजर्भ कोषमा दुई अर्ब ६८ लाख १६ हजार रूपैयाँ जम्मा भएको छ । 
 
यो तथ्यांकले बैंकको रिजर्भ कोष तुलनात्मक हिसाबले राम्रो रहेको देखिन्छ । व्यापारको आयतनलाई फराकिलो बनाउनेक्रममा प्राइमले ५२ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी ४२ अर्ब हाराहारीमा कर्जा प्रवाह गर्न सफल भएको छ । 
 
प्राइमले १५ करोड ७२ लाख ७० हजार रूपैयाँ प्रोभिजनमा राख्दा १३ करोडभन्दा बढी यसअघि जोखिमबापत छुट्याएको रकम राइट ब्याक गर्न सफल भएको छ । 
 
१.३२ प्रतिशत खराब कर्जा अनुपात, कस्ट अफ फन्ड ४.२३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५४.१६ रूपैयाँ अनि प्रतिसेयर आम्दानी २७.१० रूपैयाँ सहितको आधारभूत सूचक बैंकले सार्वजनिक गरेको छ । 
 
पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकै दिन प्राइमले २३ प्रतिशत बोनस पनि दिने निर्णय सार्वजनिक गरेको छ । 
 
बैंक सञ्चालक समितिले लगानीकर्तालाई गत वर्षको नाफाबाट २३ प्रतिशत बोनस सेयर र कर तिर्न १.२१ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको हो । यसबाट बैंकको चुक्ता पुँजी चार अर्ब ५५ करोड ७४ लाखभन्दा बढी हुनेछ । 
 
बैंकले हकप्रद सेयर पनि जारी गरिसकेकाले हकप्रद भर्नेले समेत लाभांश पाउने भएकाले लगानीकर्ताले पाउने बोनस प्रतिशत भने घट्न सक्ने उल्लेख गरेको छ ।