सिद्धार्थ बैंकले फेरि ३० प्रतिशत हकप्रद सेयर दिने, माघ २० मा बुक क्लोज फागुन ५ मा एजीएम

12 Jan,2017
  • Siddhartha_bank_1_1_12_2017_1_29_25.jpg
नेपाली पैसा

काठमाडौं : सिद्धार्थ बैंकले फेरि ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजी बढाउन फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले यो प्रस्ताव आगामी साधारण सभामा लैजाने भएको छ । सिद्धार्थ बैंकले फागुन ५ गते साधारण सभा बोलाएको छ । यो साधारण सभाका लागि माघ २० गते सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । 
 
सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४८.७५ प्रतिशत बोनस सेयर दिंदैछ । यसअघि बैंकले २५ प्रतिशत हकप्रद सेयरसमेत बिक्री गरिसकेको छ । यो बोनस सेयर २५ प्रतिशत हकप्रद सेयर भर्नेले पनि पाउनेछन् । हकप्रदमा नबिकेको सेयर बैंकले टेन्डरमार्फत बेच्दैछ । टेन्डर भर्नेले पनि बोनस पाउनेछन् । 
 
सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले सिद्धार्थ बैंकले प्रस्ताव गरेको बोनस सेयर यसअघि २५ प्रतिशत हकप्रद भरेका र टेन्डर भर्नेले समेत पाउने जानकारी दिए । बैंकले फेरि ३० प्रतिशत हकप्रद सेयर दिन लागेको उनले बताए । 
सिद्धार्थको बोनस वितरणपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद आउन लागेको हो ।

चालु आर्थि वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार सिद्धार्थ बैंकको चुक्ता पुँजी तीन अर्ब ३७ करोड ५१ लाख १९ हजार रूपैयाँ छ । बैंकको रिजर्भ कोषमा तीन अर्ब ६२ करोड रूपैयाँभन्दा बढी छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३९ करोड ९८ लाख ९४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी ४७ रूपैयाँ ६१ पैसा अनि प्रतिसेयर नेटवर्थ २३० रूपैयाँ ४७ पैसा छ ।