समिट माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (मङ्गलवार, ९ कात्तिक २०७३)

25 Oct,2016
  • summit_10_25_2016_10_42_28.png


२०७२/७३ आवको चौथो त्रैमासको  वित्तीय विवरणअनुसार खुद नाफा ३५ दशमलव ८९ प्रतिशत बढेको छ । जगेडा कोष ५७ दशमलव ५५ प्रतिशत बढेको छ । कम्पनीको भदौमा भएको साधारणसभाले ४५ प्रतिशत बोनस शेयर र २ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (४७ दशमलव ४० स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : ४४ दशमलव ४० विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, ७ दिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार ७ सय ८० मा टेवा पाउने र मूल्य महँगिएमा रू. २ हजार ९ सय २४ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ३३ दशमलव ७८ प्रतिशत बढेर रू. ३ करोड ७२ लाख पुगेको छ । सञ्चालन नाफा ३१ दशमलव ७७ प्रतिशत र खुद ब्याज आम्दानी ३५ दशमलव ८९ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ७८ दशमलव ८९ प्रतिशतबाट घटेर ७४ दशमलव ४७ प्रतिशतमा सीमित भएको छ ।

- रू. ३२ करोड ८१ लाख कुल निक्षेप सङ्कलन गरी रू. ७६ करोड ९५ लाख कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी ४६ दशमलव २४ प्रतिशत बढेर रू. १३ करोड ६३ लाख र ब्याज खर्च ७० प्रतिशत बढेर रू. ४ करोड ८० लाख पुगेको छ ।

- कर्मचारी खर्च २५ दशमलव ८५ प्रतिशत, अन्य सञ्चालन खर्च ३५ दशमलव ७८ प्रतिशत र कुल सञ्चालन नाफा ३० दशमलव ६३ प्रतिशत बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ४९ दशमलव ४४ प्रतिशत बढाएर रू. ८ लाख १ हजार छुट्ट्याएको छ ।

- पूँजी कोष लागत ६ दशमलव ७२ प्रतिशत र पूँजी कोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात १७ गुणा, प्रतिशेयर आम्दानी रू. ७४ दशमलव ४७ र मूल्य आम्दानी अनुपात करीब ३४ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब १३ गुणा छ ।