लगानीकर्ताहरु किन बैंकमा झुम्मिन थाले ?

17 Apr,2016
  • Ishwari_pd_rimal_4_17_2016_4_24_51.jpg
 
इश्वरीप्रसाद रिमाल 
 
बजार माथि जान्छ भन्ने सबैभन्दा बलियो आधार बैंकमा भएको अधिक तरलता नै हो ।

जबसम्म बैंकमा सस्तो ब्याजदरमा लगानी गर्न सक्ने पर्याप्त पैसा हुन्छ, त्यसबेलासम्म बजार माथि नै गइरहन्छ । बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । 
 
बजार बढ्ने दोस्रो महत्वपूर्ण आधार भनेको बैंकको नाफा वृद्धि हुने लगभग निश्चितजस्तै भएको छ । निक्षेपकर्तालाई चार प्रतिशतभन्दा कम ब्याज दिएपछि स्वतः बैंकको तेस्रो त्रैमासको नाफा बढेर आउने अनुमान गर्न सकिन्छ । 
 
यसबाहेक यो बुलिस बजार हो । जब नेप्सेले अघिल्लो बुलको अधिकतम विन्दु ११७५ अंकलाई पार ग–यो त्यसपछि बजारको बुमिङ सुरू भएको मानिन्छ । यो बुमिङ कहाँसम्म पुग्ने हो त्यो भने हेर्न बाँकी छ । 
 
कतिसम्म माथि जाने र कहिलेसम्म बढिरहने भनेर ठ्याक्कै भन्न चाहिँ गा–हो हुन्छ । यसरी अनुमान लगाउनु पनि राम्रो हुँदैन । 
 
अहिलेको नेप्से अंक, दैनिक कारोबार भोलूम हेर्दा बजारले थप नयाँ उचाई बाउनेमा धेरै आशंका गर्नुपर्दैन । राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन दिएको समय पनि अझै दुई वर्ष बढी छ । 
 
अधिकांशले आठ अर्ब चुक्ता पुँजी बनाउन लगातार बोनस, हकप्रद वा एफपीओ जारी गर्दै जानुपर्छ । यी कारणले बजार अझै टिक्छ र माथि नै जान्छ भन्ने विश्लेषण गर्न सकिन्छ । 
 
नेप्से यति नै अंक पुग्छ भनेर प्राविधिक कुरा गर्नुभन्दा माथि जाने आधार देखिएकामा प्रस्ट हुँदा राम्रो हुन्छ । अहिले बजारमा बैंकिङ समूहले नेतृत्व गर्न थालेको स्पट संकेत देखिएको छ । 
 
बिमा, लघुवित्त यसअघि नै धेरै बढिसकेका छन् । बढ्न बाँकी भएको बैंक नै हो । तेस्रो त्रैमासिक अवधि आइपुग्दै गर्दा बैंकतर्फ लगानीकर्ता झुमिन थालेका छन् । अब बढ्ने पालो पनि बैंककै हो ।
 
 भाउ पनि तुलनात्मकरूपमा बैंकको निकै कम छन् । बैंक बढेपछि नेप्से परिसूचक पनि छिटो माथि गइहाल्छ, कारण हाम्रो पुँजी बजारमा बैंकिङ समूहको वर्चस्व छ । 
 
अहिले नयाँ प्रविधिले सहयोग गरेको छ । पूर्णरूपमा अनलाइन प्रविधिमा जाँदा संसारभर बजारले छलाङ मारेको छ, त्यो नियम यहाँ पनि लागू हुने संकेत देखिएको छ । 
 
धितोपत्र बोर्डले बजार सुधारका लागि थुप्रै कदम चालेको छ । नयाँनयाँ निर्देशन दिइरहेको छ । तर यो निर्देशन कत्तिको लागू हुन्छ भन्ने चाहिँ हेर्न बाँकी छ । 
 
बोर्डले खातामा लाभांशबापतको रकम र सेयर पठाउन निर्देशन दिएपनि अहिलेसम्म सबैले पठाएका छैनन् ।
 
 निर्णय र निर्देशनको प्रभावकारी कार्यान्वयनमा भने ख्याल गर्नुपर्ने अवस्था छ । तर जेहोस, बजार सुधारका बाटोमै निर्णय आएका छन् । यसले दीर्घकालमा बजारमा सकारात्मक प्रभाव नै पार्ने देखिन्छ । 
 
धितोपत्र बोर्डले निर्णय लागू गर्न सरोकारवाला निकायसँग बढी सरसल्लाह र समन्वय गरी अघि बढेमा निर्णय तथा निर्देशनहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न सजिलो हुनसक्छ । 
 
पुँजी बजार संवेदनशील क्षेत्र हो । राजनीतिक, आर्थिक, सामाजिक अवस्था र छिमेकीसँगको सम्बन्धले बजारको मनोविज्ञानमा ठूलो प्रभाव पारिरहेको हुन्छ । तर यतिबेला हरेक हिसाबले बजारका लागि सकारात्मक अवस्था छ । 
 
आन्तरिक राजनीति ठीकै देखिएको छ । छिमेकीसँगको सम्बन्ध पनि सुधारतर्फ अघि बढेको छ । भूकम्प र नाकाबन्दीबाट आहत जनताले बल्ल सजिलोसँग श्वास फेर्न पाएका छन् । दीर्घकालमा अर्थतन्त्र पनि राम्रै बाटोमा अघि बढ्ने अपेक्षा गर्न सकिन्छ । 
 
सेयर ब्रोकर तथा विश्लेषक रिमालसँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित