रेमिटेन्स आर्जन गर्ने ८१.६ प्रतिशत परिवारले किन सेयर बजारमा लगानी गर्दैनन् ?

16 Oct,2016
  • foreign-remittance_10_16_2016_10_12_31.jpg
नेपाली पैसा 
काठमाडौं : मुलुकमा वार्षिक ६ खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिने गरेको भए पनि यस्तो रकम पुँजी बजारमा भने अत्यन्त कम मात्र लगानी हुने गरेको छ  । 
 
पछिल्लो एक अध्ययन अनुसार रेमिटेन्स आर्जन गर्न वैदेशिक रोजगारीमा गएका कुल घरपरिवारमध्ये जम्मा १८.४ प्रतिशतले मात्र सेयर बजारमा लगानी गर्ने गरेका छन् । 
 
बाँकी ८१.६ प्रतिशतले विदेशबाट घरमा मनग्ये पैसा आएपनि सेयर बजारमा लगानी गर्दैनन् । यस्ता घरपरिवारलाई साधारण सेयर तथा दोस्रो बजारबाट समेत सेयर किन्नेबारेमा कुनै पनि जानकारी छैन । 
 
नेपाल राष्ट्र बैंकले गरेको हालै गरेको एक अध्ययन अनुसार वैदेशिक रोजगारीमा गएका दुई तिहाई घर परिवारका सदस्यले सेयर बजारमा लगानी नगर्नुको प्रमुख कारण यसबारेमा जानकारी नहुनु रहेको बताएका छन् । 
 
राष्ट्र बैंकको रिसर्च अनुसार सेयरमा लगानी नगर्नेमध्ये ६०.९ प्रतिशत घरपरिवारले सेयर बजारसम्बन्धी कुनै पनि जानकारी नभएको बताए भने ३१.८ प्रतिशतले लगानी गर्ने पैसा नपुगेको बताएका थिए । 
 
यसैगरी, रेमिटेन्स आर्जन गर्नेमध्ये २.३ प्रतिशत घरपरिवारले सेयर किनबेच गर्ने सुविधा नजिक स्थानमा नभएको बताए । यसबाहेक पाँच प्रतिशतले भने अन्य विविध कारणले सेयरमा लगानी गर्न नसकेको बताएका थिए ।
 
रेमिटेन्स प्राप्त गर्ने घरपरिवारले सरकारी ऋणपत्र र सामूहिक लगानी कोषमा पनि लगानी गर्नेको हिस्सा ठूलो छ । 
 
कुल घरपरिवारमध्ये ९९.४ प्रतिशतले सरकारी ऋणपत्र र म्युचुअल फन्डमा समेत लगानी नभएको बताएका छन् । 
 
यसबाहेक सरकारले वैदेशिक रोजगारीमा गएका घरपरिवारलाई लक्षित गरी आर्थिक वर्ष २०६६–६७ देखि वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न थालेको छ । 
 
तर यस्ता परिवारमध्ये ९९.४ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रमा पनि लगानी गर्दैैनन् । जम्मा ०.६ प्रतिशत परिवारले मात्र बचतपत्रमा लगानी गरेको रिसर्चले देखाएको छ । 
 
७३.६ प्रतिशत घरपरिवारलाई वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी नै छैन । २५.२ प्रतिशतले भने बचतपत्रका बारेमा जानकारी भए पनि पैसा अभावका कारण लगानी गर्न नसकेका हुन् । 
 
जम्मा १.६ प्रतिशत परिवारले भने अन्य थुप्रै कारणले बचतपत्रमा लगानी गर्न नसकेको उत्तर दिएका छन् ।