क्लियरिङ बैंक थप्न किन हुँदैछ ढिलाई ? सीडीएस भन्छ–अब छिट्टै टेन्डर

17 Oct,2016
  • cdsc_resize_10_21_2016_3_09_33.jpg
नेपाली पैसा 
काठमाडौं : सेयर बजारको आकार बढ्दै गएपछि धितोपत्र बोर्डले नौ महिनाअघि नेप्सेलाई क्लियरिङ बैंकको संख्या बढाउन निर्देशन दियो । 
 
क्लियरिङ बैंकको संख्या कम्तिमा पनि तीनवटा पुर्याउनुपर्छ भन्ने बोर्डको ठम्याईं छ । 
नेप्सेले पनि धितोपत्र बोर्डलाई प्रक्रिया पूरा गरेर थप्ने जानकारी दिंदै आएको छ । धितोपत्र बोर्डले २०७३ वैशाख १ बाट अनिवार्यरूपमा क्लियरिङ बैंक थप्न निर्देशन जारी गरेको हो । 
 
तर नेप्सेले विद्यमान सिस्टममा थप क्लियरिङ बैंक राख्न नमिल्ने बतायो । थप क्लियरिङ बैंकका लागि सिस्टम दिने भेन्डरसँग एएमसी (वार्षिक मर्मत शुल्क) सम्बन्धी सम्झौता हुनुपर्ने अर्को कार्ड पनि नेप्सेले फ्याँक्यो ।
 
हाल सफ्टवेयर निर्माता भारतीय कम्पनीसँग एएमसी पनि भइसकेको छ । तर अहिलेसम्म क्लियरिङ बैंक भने थपिएको छैन ।

के हो त कारण ? नेप्से भन्छ, ‘सिस्टममा नयाँ क्लियरिङ बैंक राख्न सर्भिस प्रोभाइडरलाई जानकारी गराउनुपर्छ । त्यसअनुसार सिस्टम अपग्रेड पनि गर्नुपर्छ । यसका लागि समय लागेको हो ।’
 
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता नयाँ क्लियरिङ बैंक थप्न सफ्टवेयर निर्माता भारतीय कम्पनीलाई जानकारी गराइसकिएको बताउँछन् । 
 
‘सिस्टम डेभलपमेन्टको काम भइरहेको छ । अब छिट्टै टेन्डरको प्रक्रिया अघि बढ्छ । यकिन मिति भने बताउन सकिंदैन’ उनले भने । हाल एउटैमात्र ग्लोबल आइएमई क्लियरिङ बैंक छ । 
 
एउटामात्र बैंक हुँदा लगानीकर्ताले सास्ती खेप्नुपरेको छ । चाहेका बेला राफसाफको काम हुन सकेको छैन । दैनिक २० करोडभन्दा कम कारोबार हुने बजार अहिले औसतमा एक अर्ब माथि छ । 
 
यसअघि एकै दिनमा दुई अर्ब भन्दा पनि बढीको कारोबार रेकर्ड कायम भइसकेको छ । डिम्याट प्रणालीबाट कारोबार हुन थालेपछि लगानीकर्ता र कारोबार भोलूम बढेसँगै थप क्लियरिङ बैंक आवश्यक भएको हो । 
 
नियामक धितोपत्र बोर्डले यसअघि क्लियरिङ बैंक थप्न बारम्बार निर्देशन दिएको थियो ।
 धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी नेप्सेले क्लियरिङ बैंक थप्न सफ्टवेयर निर्माता कम्पनीसँग छलफल भइरहेको जानकारी गराएको बताउँछन् । 
 
‘एएमसी भइसकेकाले अब छिटै काम अघि बढ्नुपर्ने हो,’ उनले भने । 
 
सर्वसाधारण लगानीकर्ताको सुविधा अनि अधिकारसँग जोडिएको यस्तो संवेदनशील विषयमा ढिलाई हुँदा फेरि पनि चेपुवामा भने सर्वसाधारण लगानीकर्ता नै परेका छन् ।