पुँजी बजारमा एनआरएन भित्र्याउन तात्यो सरकार, दुई महिनामा कार्यविधि, समिति गठन

19 Oct,2016
  • sebon_10_19_2016_12_56_26.jpg
नेपाली पैसा 
काठमाडौं : सरकार पुँजी बजारमा एनआरएन भित्र्याउन तातेको छ । 
 
अहिलेसम्म एनआरएनलाई पुँजी बजारमा लगानी गर्ने स्पष्ट कानुन अभाव भएकाले उनीहरूले वैध तरिकाले लगानी गर्न पाएका छैनन् । 
 
एनआरएनलाई वैधानिक बाटोबाट पुँजी बजारमा प्रवेश गराउन कार्यविधि बनाउनका लागि धितोपत्र बोर्डले एक समिति गठन गरेको छ । 
 
धितोपत्र बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा बोर्ड, अर्थमन्त्रालय, राष्ट्र बैंक तथा नेप्सेका पदाधिकारी सदस्य रहने यो समितिले कार्यविधिको मस्यौदा तयार गरी पेस गर्नेछ । 
 
यो समितिले बजारमा एनआरएनको सहभागिताबाट धितोपत्र बजारसहित मुलुकको समग्र अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा समेत अध्ययन गर्नेछ ।
 
 समितिले दुई महिनाभित्र कार्यविधिको मस्यौदा तयार पारिसक्ने धितोपत्र बोर्डले जानकारी दिएको छ । 
 
पुँजी बजारमा एनआरएनलाई भित्र्याएपछि बजारको आकार फराकिलो हुनुका साथै दिगो विकास हुने अपेक्षा गरिएको छ । 
 
नेपाली पुँजी बजार डिम्याट प्रणालीमा प्रवेश गरे पनि अहिलेसम्म एनआरएन अनि विदेशी लगानीकर्तालाई भने खुला गरिएको छैन । 
 
कतिपय एनआरएनहरूले नेपालमा रहेका आफन्तका नाममा अप्रत्यक्ष ढंगले सेयर कारोबार भने गरेको ब्रोकरहरूको भनाई छ । 
 
                                     
                                  यसो भन्छ धितोपत्र बोर्ड 


धितोपत्रको दोस्रो वजारमा एनआरएनलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि वनाउन समिति गठन गरेको सम्वन्धमा ।

गत माघ २०७२ देखि धितोपत्रको दोस्रो वजार कारोवार अभौतिकिकरण भई वजार आधुनिकिकरणको युगमा प्रवेश गरी नेपालको धितोपत्र वजारको क्षेत्र समेत विस्तार हुँदै गईरहेको छ । तथापि हालसम्म धितोपत्र वजारमा गैह्र आवासिय नेपाली (NRN) ले प्रत्यक्ष रुपमा लगानी गर्ने व्यवस्था रहेको देखिदैन । धितोपत्रको दोस्रो वजारमा एनआरएनले सहजरुपमा प्रवेशको लागि पटक पटक माग गर्दै आईरहेको एवं विगतकोे वजेटमा धितोपत्र वजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको परिप्रेक्ष्यमा धितोपत्रको दोस्रो वजारमा एनआरएनलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि वनाउन आवश्यक देखिएकोले सो बमोजिम कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा बोडर्, अर्थमन्त्रालय, नेपाल राष्ट्र वैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने गरी एक समिति गठन गरीएको छ । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेत सहभागिता रहने व्यवस्था रहेको छ ।

उक्त समितिले एनआरएनको सहभागितावाट धितोपत्रको दोस्रो वजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिना भित्र कार्यविधि तयार गर्नेछ । यस्को कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो वजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बोर्डको अपेक्षा रहेको छ ।