तिहारमा सुनचाँदी कारोबारमा कमाल, एक अर्ब १५ करोडको भयो व्यापार

04 Nov,2016
  • gold_11_4_2016_12_10_02.jpg
सुरेन्द्र पोखरेल
 
काठमाडौं : तिहार सबैभन्दा बढी सुनचाँदी कारोबार हुने समय हो । 
 
सुनचाँदी व्यवसायीलाई तिहारमा प्रत्येक वर्ष भ्याइनभ्याई हुन्छ । यसपटकको तिहारमा कति रूपैयाँ बराबरको सुनचाँदी कारोबार भयो होला ? धेरैलाई यही जिज्ञासा हुन सक्छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारमा भएको सुनचाँदी कारोबारको सामान्य रेकर्ड राखेको छ । महासंघका अनुसार यसपटक तिहारको एक हप्तामा मात्रै एक अर्ब १५ करोड रूपैयाँको सुनचाँदीको व्यापार भयो । 
 
यो व्यापार गत वर्षको तिहारको तुलनामा २५ प्रतिशतले बढी हो । गत वर्ष यही बेला कारोबार निकै कम थियो । सर्वसाधारण भारतीय नाकाबन्दी र भूकम्पको चपेटामा परेका कारण गत वर्ष सुनचाँदी कारोबार कम भएको व्यवसायीको अनुमान छ । 
 
‘तिहारको एक साता अवधिमा सुन एक अर्ब रूपैयाँको कारोबार भयो भने चाँदीको कारोबार १५ करोड रूपैयाँ पुग्यो,’ महासंघ भन्छ ।  
 
गएको दसैंमा बजारमा सुनचाँदी अभाव भएको थियो । त्यो क्रम तिहारमा पनि जारी रह्यो । धनतेरस र लक्ष्मी पूजाका बेला सर्वसाधारणले खोजे अनुसार चाँदी पाउन सकेनन् । भाउ घटेकाले व्यवसायीले बजारमा कम बिक्री गरेको स्वयं साना बिक्रेताहरू बताउँछन् । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले  तिहारको समयमा दुई सय किलो सुन र तीन हजार किलो चाँदी बिक्री भएको बताए । 
 
दसैंमा भन्दा तिहारमा धेरै सुनचाँदी किनबेच भएको उनको भनाई छ । दसैंको समयमा माग अनुसार सरकारले कोटा नबढाउँदा बजारमा सुनचाँदीको अभाव भएको उनको दाबी छ । 
 
चाडपर्व र विवाहको सिजनमा सुनचाँदीको कारोबार अधिक हुने गर्छ । विगतमा दैनिक ३५ किलोसम्म सुन कारोबार हुने भए पनि पछिल्ला वर्षहरूमा माग घटेर दैनिक १५ देखि २० किलो हाराहारीमा सीमित भएको सुनचाँदी व्यवसायीको दाबी छ । 
 
चीनको खासा हुँदै तस्करीमा व्यापक सुनचाँदी आयात भएकाले पनि बजारमा माग घटेको केही व्यवसायीको भनाई छ । 
 
हाल सुन तोलाको ६० हजारभन्दा तल कारोबार भइरहेको छ । चाँदीको भाउ पनि तोलाको आठ सय ५० रूपैयाँभन्दा तल छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि तोेकेको भाउ अनुसार छापावाल सुन तोलाको ५७ हजार पाँच सय र चाँदी तोलाको आठ सय २५ रूपैयाँ छ ।