म्युचुअल फन्ड कम्पनीमा धितोपत्र बोर्डको छड्के, बजार घटाउन भूमिका छ छैन प्रमाण हेरिदैं

23 Nov,2016
  • sebon_11_23_2016_2_16_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड कम्पनीहरूमा स्थलगत अनुगमन गर्न थालेको छ । 
 
म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनी पैसा होल्ड गरेर बसेकाले सेयर बजार ओरालो लाग्न थालेको भन्ने लगानीकर्ताबाट गुनासो आउन थालेपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले स्थलगत अनुमगन गर्न थालेको हो । 
 
बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारी निरीक्षण गर्न पुगेका छन् । 
 
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो आउन थालेपछि वास्तविकता पत्ता लगाउन बोर्डले स्थलगत निरीक्षण थालेको जानकारी दिए । 
 
‘मंगलबार दुईवटामा निरीक्षण गरिएको थियो । बुधबार पनि कतिपय कम्पनीमा बोर्डले स्थलगत निरीक्षण गरिरहेको छ,’ उनले भने । मंगलबार निरीक्षण गरिएका कम्पनीले क्षमता अनुसारको सेयर पहिल्यै किनिसकेको तथ्यांक देखाएको उनले जानकारी दिए । 
 
अनुगमनका क्रममा बजारलाई प्रभावित पार्ने काम म्युचुअल फन्डले गरेको पाइएमा कारवाही गर्ने रणनीति बोर्डले बनाएको छ ।